काठमाडौं । सरकारले व्यक्ति तथा संस्थासँग उठाउनुपर्ने बक्यौता रकम १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी छ ।
महालेखा नियन्त्रक कार्यालयअन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको विवरणअनुसार ७२ जना व्यक्ति तथा संस्थासँग सरकारले उठाउनुपर्ने बक्यौता रकम १ अर्ब ३६ करोड ७१ लाख ५७ हजार ८ रुपैयाँ रहेको छ ।
कार्यालयले २०२२ देखि २०७९ सालसम्म व्यक्ति तथा संस्थाले राज्यकोषबाट लगेको उक्त रकम उठाउन बाँकी छ । कार्यालयले ५९ वर्ष पुरानो बक्यौता रकम उठाउन बाँकी देखिन्छ । उक्त रकम धनुषाको जनकपुरका प्रेमबहादुर सिंहबाट उठाउन बाँकी रहेको कार्यालयको विवरणमा उल्लेख छ ।
कार्यालयको विवरण अनुसार सिंहले २०२२ साउन १२ गते घर किन्न ९ हजार ४८० रुपैयाँ सापटी लिएका थिए । उक्त रकममध्ये ५ हजार ७४४ रुपैयाँ २७ पैसाँ अझै सरकारले उठाउन सकेको छैन ।
कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले उठाउन बाँकी सबैभन्दा पछिल्लो रकम चितवनको भरतपुर महानगरपालिका–१२ का ईश्वर रिमालसँग छ । नताशा निर्माण सेवासँग जोडिएका रिमालसँग कार्यालयले १ करोड ४५ लाख ६३ हजार ७८४ रुपैयाँ ८५ पैसा रकम उठाउन बाँकी छ ।