काठमाडौँ । बढ्दो विप्रेषण र घट्दो अन्तर्राष्ट्रिय व्यापारका कारण मुलुकसँग विदेशी मुद्रा थुप्रिएको छ । कुनै समय विदेशी मुद्राको सञ्चिति घट्दा श्रीलङ्काको अर्थतन्त्रको हालतसँग तुलना भएको नेपालको अवस्था अहिले सर्वाधिक विदेशी मुद्रा रहेको स्थितिमा पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार कात्तिकसम्म मुलुकसँग १६ अर्ब ७० करोड डलर बराबरको विदेशी मुद्रा सञ्चित छ । २०८० कात्तिकको तुलनामा यो ९.४ प्रतिशतले बढी हो । त्यतिबेला मुलुकसँग १५ अर्ब २७ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चित थियो । सञ्चित विदेशी मुद्रामध्ये अधिकांश हिस्सा अमेरिकी डलरको छ । नेपालको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय व्यापार साझेदार भारतको मुद्राको हिस्सा भने २२ प्रतिशत रहेको छ । केन्द्रीय बैङ्कका अनुसार नेपालसँग सञ्चित रहेको कुल विदेशी मुद्रा नेपाली विनिमय दर अनुसार २२ खर्ब ४४ अर्ब रुपियाँभन्दा माथि छ । जुन कुल गार्हस्थ उत्पादनको तुलनामा ३९.५ प्रतिशत हुन आउँछ । कुल सञ्चितिमध्ये राष्ट्र बैङ्कसँग २० खर्ब आठ अर्ब रहेको छ भने बैङ्क तथा वित्तीय संस्थासँग दुई खर्ब ४७ अर्ब रुपियाँ रहेको छ ।
मुलुकसँग रहेको कुल विदेशी मुद्रा वर्तमान आयात परिणामका हिसाबले १८ महिनाको वस्तु आयातका लागि पर्याप्त हुने राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै यस्तो सञ्चितिले १५ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने केन्द्रीय बैङ्कको अनुमान छ ।