आज संसारभरि कैयौं देशमा गाेला बारुदकाे युद्ध चरम सीमामा चलिरहेकाे छ ,लाखौं हजाराैं नागरिकहरुकाे हत्या गरिदै छ भने अर्कोतिर अधिकांश देशहरुमा जातीय दंगा भड्काएर एकआपसमा हत्या हिंसा र घृणाकाे बीजारोपण गरिदैछ । आज कुनै ठाउँमा ,कुनै देशमा पनि त्याे देशकाे नागरिकले सुरक्षित र शान्तिपूर्ण जीवन जिउने कल्पना पनि गर्न सक्ने अवस्था छैन भने , हतियारकाे ब्यापारबाट मुनाफा कमाउन संसारभरिका राष्ट्र र जनतामा हत्या , हिंसा र घृणाकाे आतंक मच्चाउनेहरु नै देश हाक्ने ठेकेदार चुनिन्छन भने शान्ति र सुशासनकाे आम नारिकले महसुस गर्ने कुनै ठाउँ ,कुनै वयवस्था देखिदैन ?
आज संरारभरि सडक र सदनमा ` जनता द्वारा,जनताकाे लागि ,जनताकाे शासन ´ भनेर वकाल गर्दै स्थापना गरिएकाे लाेकतान्त्रिक र गणतान्त्रिक व्यवस्था दिनप्रतिदिन असफलताकाे बाटाेमा अग्रसर हुँदै गएकाे र याे व्यवस्था परिवर्तन गर्नु पर्छ भन्ने आवाजहरु उठ्न थालेका छन् तर यहाँ नेर यी असफल भैसकेका व्यवस्था परिवर्तन गर्नु पर्छ भन्नेहरुमा एउटा समस्या के देखिएकाे छ भने ,आजसम्मका सबै व्यवस्थाले राष्ट्र र नागरिकलाई उचित व्यवस्था दिन सकेनन् यीनिहरु सबै असफल भए अब यी सबै असफल व्यवस्थाकाे ठाउँमा एउटा नयाँ व्यवस्था जसले राष्ट्र र त्याे देशका नागरिकमा सुशासन ,शान्ति र समृद्धि दिन सक्ने व्यवस्थाकाे स्थापना गर्नतिर लाग्नु पर्छ कसैले भन्दैन ,भन्छन र गर्छन् त के भने याे व्यवस्था फेल भयाे याे व्यवस्था याे राष्ट्रलाई सुहाउँदो छैन याे भन्दा त पहिले कै कुशासन ठिक थियाे भनेर समाज र देशलाई Good- better - best तिर लानु पर्छ भन्ने कल्पना पनि नगरीकन उल्टे बास बरेलीकाे भने जस्तै Better-best- good तिर पछाडि फर्किने भन्दै हिड्छन् ?
आज संसारभरिमा बहस हुन थालिसकेकाे छ, लाेकतन्त्र र गणतन्त्र - बहुमतकाे वकालत गर्ने व्यवस्था असफल भैसक्याे भनेर । प्रायः दुइटा मात्रै दल भएकाे देशहरु या दल बिहिन देशहरूमा बाहेक बहुदलीय व्यवस्था भएका देशहरुमा कसैलाई पनि जनताले सत्ता चलाउन सक्ने अनुमति दिइरहेका छैनन्, एक जना वा दुइचार जना भएका दलहरूकाे अनैतिक शर्तहरु मानेर सत्तालाई भेन्टिलेटरमा राखेर टिकाउदा पनि लाजै नमानी देशमा सुशासन र उन्नति गरिरहेका छाैं भन्छन् । पाँच बर्षकाे लागि बन्ने सरकार एक बर्ष पनि टिकाउन छेपाराकाे कथा भएकाे छ ?
गाउँमा एउटा बहुत राेचक वास्तविक कथा अहिले पनि कहिलेकाही हांसाे गर्न सुनाउने गरिन्छ २००६/७ सालतिर अहिलेकाे जस्ताे थिएन बर्षमा बहुत मुस्किलले लुगाफाटो फेर्ने चलन थियाे ,नयाँ लुगा दिनरात लगाए कति टिक्छ र एक महिना पनि टिक्दैन च्याती हाल्छ अनि शुरु हुन्छ तेही फाटेकाे लुगामा पटक पटक टालाे हाल्ने काम,टालाे हाल्दा हाल्दा त्याे लुगा केही समय पछि बाेक्नै नसक्ने गरि गह्रुँगाे भै दिन्छ । यसरी टालाे हालेकाे लुगा लगाउदा लगाउदा थाकेका एकजना त्यतिबेला ५/६ बर्षकाे बच्चाले आफ्नु भाेटाेमा हजुरआमाले फेरि दशाैं पटक टालाे हाल्न थाले पछि अत्यन्त भम्भीर र चिन्ता गर्दै हजुरआमा भाे भाे अब टालाे नहाल्नु हाेस अब म याे बाेक्नै सक्दैन भनी विनम्र अनुराेध गरेकाे कुरा अहिले पनि ताजै छ ?
त्यस्तै विपक्ष , अभियानकर्ता र मिडियाहरु लगायत स्वयं सत्तामा रहेका दलका बहुसंख्यक नेताहरु समेत तथा राजतन्त्र ठिक छैन भनेर त्यसलाई फाल्न ६०/७० बर्ष अत्यन्त कष्टकर संघर्ष गरेका कतिपय नेताहरु समेत आज नयाँ विकल्पकाे खाेजीतिर लाग्नु भन्दा हिजाेकाे दलविहीन सत्ता नै ठिक थियो भन्न थालेका छन् । आजकाे आवश्यकता र देशलाई जीवित राख्न र जनतालाई सुशासन ,सुव्यवस्था र समृद्धिकाे बाटाेतिर लाने उचित प्रणालीकाे खाेजी गर्नुकाे साटाे काेही पुरानै राजतन्त्रीय व्यवस्था ठिक थियाे भनेर राजतन्त्र फर्काउने नाैटंकीका पात्र बनेर सडकमा उफ्रिदै छन् भने काेही याे फाटेकाे लुगामा फाटेकै लुगाकाे टालाे हाले जस्ताे च्यातिएकाे,मक्कीयकाे व्यवस्था संसारकै उत्कृष्ट व्यवस्था हाे यसैलाई टिकाउनु पर्छ भन्दै राष्ट्रलाई युवा रहीत र टाट् पल्टाउने खेलमा जनता माथि कैयौं प्रकारका ट्याक्स,रेमिटेन्स र बिदेशी अनुदान( भिख ) खाएर पाँच तारे जीवनकाे मज्जा लिइरहेका छन्। सुन तस्करी,मानव तस्करी,कमिशन,घुस,हत्या ,बलात्कार ,जग्गा दलाली,स्वास्थ्य सामग्री ,हवाई जहाज,समुन्द्र नभएकाे देशमा पानीजहाजमा कमिशन खाएर बिदेशी कम्पनीमा लगानी र बिदेशी बैंकमा कराेडाैं जम्मा गरेकाे एउटा दलका नेताले अर्को दलकाे नेताकाे भण्डाफाेर सार्वजनिक रुपमा गरिरहेका छन् । कतिपय नेताहरु जनताकाे सम्पत्ति अपचलन र दुरुपयोग गरेकाे आराेपमा मुछिएका छन् । सरकारमा जाे जान्छ उसले सत्तामा सहभागी भएका आफ्ना नेता चाेख्याउने काम गर्छ सकेसम्म कार्वाहीकाे दायरा पनि ल्याउन्न,सत्ताबाट बाहिए पछि ,सत्तालाई सहयाेग नगरे पछि भने बल्ल अपराध गरेको बहाना बनाएर बिपक्षी सिध्याउने काममा अग्रसरता देखाउन थाल्छ ।
यसरी पुर्ण रुपमा असफल भैसकेको व्यवस्थालाई नै हामी सबै मिलेर पुरानाे व्यवस्था ठिक थियाे र फर्काउनु पर्छ भन्दै सडक र सदनमा गाेहीका आँसु रुँदै `ताक परे तिवारी नत्र गाेतामे´ बन्न तयार छाैं । सबै व्यवस्थाकाे चटनी चाटेर पनि अंझै अघाएका छैनौं ? दल र नेताहरूकाे लागि त पुरानाे र हालको दुबै वयवस्था भेन्टिलेटरा राखेकाे राेगीकाे लागि अक्सिजन साबित भएका छन् तर जनता पनि सडकमा ,मिडिया ,पत्रपत्रिकामा जतिसुकै याे व्यवस्था हाम्रो देशकाे हकमा ठिक छैन भनेर कराए पनि आँखिरमा जनप्रतिनिधिकाे चयन गर्नु पर्दा त फेरि पनि तिनैलाई मत दिएर चुन्छ अंझ भन्नू पर्दा मत खसाल्ने मतदाताकाे प्रतिशत झन्झन बढ्दै गएकाे देखिन्छ भने आँखिरमा के याे देशका जनताले,याे देशका बुद्धिजीवीले,याे देशका सामाजिक अभिन्ताले,याे देशका मिडिया र पत्रकारले,याे देशका नेताहरूले वास्तवमा याे देशमा सुशासन ,याे देशमा शान्ति ,याे देशकाे समृद्धि चाहन्छन् भन्ने कल्पनासम्म पनि गर्न सक्ने वातावरण कतै देखिन्न ? एकदिन चुन्ने अनि पाँच बर्षसम्म याे भएन त्याे भएन भनेर गाली गर्ने अनि फेरि चुनाब हुँदा तिनै असफल पात्रहरु आफ्नु अमुल्य मत दिएर जिताउने अनि एक महिना पछि पाँच बर्षसम्म सत्ताे सराप गर्ने ? अग्रगामी परिवर्तन भन्या यही हाे त ?
अखण्ड राष्ट्रलाई टुक्राटुक्रामा बाँडेर स्वायत्तता र संघीयताको अंगुर देखाएर कहिलेसम्म लाेभ्याउने ? भाेकाे स्याले त लटरम्म पाकेका अंगुर देखे पछि रुख मुनि बसेर झर्छ र खान्छु भनी पर्खिदा पर्खिदा नझरे पछि अंगुर खट्टे है भनेर अन्तै खानेकुरा खाेज्न हिडेकाे थियाे भने ८४ लाख जिवजन्तुमा सर्वश्रेष्ठ र उत्कृष्ट प्राणी मनुष्य अंझै कति बर्ष अंगुर झर्ने आशमा बिदेश पलायन हुने वा चम्चा र झाेला बाेकी हिड्ने ? उपचार गर्न बिदेशिनु पर्ने,उच्च शिक्षा लिन बिदेशिनु पर्ने, डाक्टर ,इन्जिनियर र पाइलट बन्न बिदेशिनु पर्ने,राेजगारी खाेज्न बिदेशिनु पर्ने, खानेकुरा र लाउनेकुरा बिदेशी खाेज्नु पर्ने,एउटा सियाे र धागाेसम्म बिदेशी नै किन्नु पर्ने । चुलाे ग्यास हिटर पंखा सबै बिदेशी नै किन्नु पर्ने, सडक र आयाेजनाहरु बिदेशीले नै आएर या अनुदान ऋण दिएर बनाई दिनु पर्ने ?
अनि हामी जनता , मिडिया,पत्रकार देखि सबका सब विश्लेषक विशेषज्ञ खालि चिया गफमा रायबहादुर बनेर हिड्ने ? असफल व्यवस्थाका असफल नेताहरुका अपराध लुकाउन सडकमा कुर्लिने आज भन्दा ४०/४५ बर्ष पहिले मानबहादुर पाख्रिनले गाउनु भएको गीत झल्झली सम्झनामा आउँछ " फाटेकाे जालले छेकेकाे, छेके पनि छर्लङ्ग देखेको "। साँच्चै राष्ट्र र जनताकाे प्रगति ,उज्ज्वल भविष्य ,शुस्वास्थ्य र सुशासनकाे चिन्ता छ भने सडक र सदनमा,मिडिया र पत्रपत्रिकामा ,अन्तर्वार्ताहरुमा,लेख र रचनाहरुमा, साहित्यमा कुशासन ,कुव्यवस्था,कुतर्क,महंगी,हत्या ,हिंसा,बलात्कार ,मानव र सुन तस्करी,कमिशन र घुसखाेरी,दलालीकाे बिरुद्ध उठ्ने आँट गर्ने कि ? चिया पसलदेखि सडक र सदनमा असल व्यवस्था स्थापना गर्नकाे लागि बहस छेड्ने कि ?