काठमाण्डौ – घरेलु हिंसाका घटनामा मेलमिलाप गराउँदा पीडितले न्याय पाउँन नसकेको अधिकारकर्मीले बताएका छन ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आइतवार काठमाण्डौमा ओरेक नेपालले आयोजना गरेको ‘लैङ्गिक हिंसा प्रभावितको न्यायिक प्रक्रियामा देखिएको जटिलता तथा सम्बोधनमा सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा सहभागी अधिकारकर्मीले पिडक र पीडितलाई मेलमिलाप गराएर एकै ठाउँमा राख्दा पीडितले झनै हिंसा भोग्नुपरेको बताएका हुन ।
त्यस्तै उनीहरुको घरेलु हिंसाका घटनामा मेलमिलाप गराउन नहुने कुरामा जोड दिएका छन् । अधिवक्ता बिन्द्रा महर्जनले घरलु हिंसालाई सामान्यरुपमा लिएर जहाँ पनि, जसले पनि, जहिले पनि ,जसरी पनि ,जस्तो सुकै अवस्थामा पनि मिलाउँदा हुने जस्तो बनाइदिएर पीडितले न्याय पाउँन गाह्रो भएको बताउनु भयो । उहाँले जसले गर्दा पीडितलाई थप पीडामा पारिदिने, धेरै महिला मारिने र कतिपय आत्महत्याको अवस्थामा पुग्ने गरेको बताउनु भयो ।
त्यस्तै, महिला मानव अधिकार रक्षक श्यामकुमारी साहले धेरैजसो पीडितमा कानूनी साक्षरता नहुने हुँदा कानूनी सहजिकरण गर्नुको पर्नेमा उल्टै कानूनी मेलमिलाप गराउँदा पीडितले न्याय पाउँन नसकेको भनाइ राख्नु भयो ।
उहाँले प्रहरी कहाँ पुगेका कुनै पनि घरेलु हिंसाका उजुरीलाई मेलमिलाप नगराएको बताउनु भयो । सरकारी वकील गोपालप्रसाद रिजाल भने घरेलु हिंसाको घटनामा मेलमिलाप गराउने व्यक्ति तालीमप्राप्त र योग्य हुनुपर्ने बताउँदै दुवै पक्ष खुशी हुने गरी मात्रै मेलमिलाप गराउनु पर्ने बताउनु भयो ।