रवि अनुसन्धानमा मानवअधिकारको बेवास्ता

13.1k Shares

काठमाडौं । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगमा पक्राउ परी अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति सरकार अनुदार बनेको छ । अड्डासार गर्दा रास्वपाको आन्दोलन छल्ने नाममा रातारात पोखरा लगिएको र लामिछानेको स्वास्थ्य समस्यामा समेत चासो नदेखाएको भन्दै सरकारको अनुदारपनप्रति टिप्पणी भएको हो ।

रविप्रति पछिल्लोपटक सरकार अनुदार बन्दै गएको प्रतिपक्षी दलसँगै सत्तापक्षकै केही नेताहरूले विशेष चासो व्यक्त गरेका छन्। राजनीतिक प्रतिशोधमा आफ्ना सभापतिलाई पक्राउ गरी हिरासतमा राखिएको भन्दै रास्वपा आन्दोलनमा रहेकै बेला नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले समेत सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।

‘अदालतको न्यायिक प्रक्रियामा कुनै टिप्पणी गर्न हुँदैन । तर, राति १२ बजे उठाएर लानु मानव अधिकारविरोधी र अमानवीय काम हो । यो रविजीको मात्र कुरा होइन, कसैलाई पनि यस्तो गर्नु हुँदैन’ –कोइरालाले भन्नुभएको छ । सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई प्रहरीले मंसिर १९ गते राति चितवनबाट पोखरा लगेको थियो । प्रहरीले सुरक्षाको कारण देखाए पनि कोइरालाले प्रशासनले यसरी उम्कन नपाउने टिप्पणी गर्नुभएको छ ।

त्यसै गरी संविधानविद् डा. भीमार्जुन आचार्यले अपवादबाहेक नागरिकलाई मध्यरातमा पक्रने, बयान लिने, ओसारपसार गर्ने सबै काम कानुनतः वर्जित भएको बताउनुभएको छ । उहाँले लामिछानेलाई मध्यरातमा ठाउँ स्थानान्तर गर्ने कार्यले विधिको शासनलाई पुनः लज्जित पारेको बताउनुभएको छ ।

यसअघि नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई रविलाई हिरासतमै भेट्न पुग्नुभएको थियो । सो क्रममा डा. भट्टराईले सरकारले नयाँ राजनीतिक शक्तिलाई दबाउने प्रयासस्वरूप लामिछानेलाई अनेकन मुद्दा चलाउन लागेको टिप्पणी गर्नुभएको थियो।

सम्बन्धित समाचार