काठमाडौं । मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइटस वाच (एचआरडब्लु) ले सउदी अरबमाथि मानव अधिकार उल्लङ्घनको गम्भीर आरोप लगाएको छ । संस्थाले हालै प्रकाशित गरेको विज्ञप्तिअनुसार साउदी अरबका महापरियोजनाहरूमा व्यापक श्रम दुर्व्यवहार भएका छन् भने २०३४ को फिफा विश्वकपको निर्णय गर्ने मिति नजिकिँदै जाँदा त्यस्तो जोखिम झन् बढेको हो ।
साउदी अरबमा रहेका आप्रवासी कामदारमाथि भयावह श्रम दुर्व्यवहार हुँदाहुँदै पनि इन्टरनेसल फेडरेसन अफ एसोसिएसन फुटबल (फिफा)को २०३४ को खेल खेलाउन साउदी अरबलाई दिन लागिएकोमा ह्युमन राइटस वाचले चिन्ता पनि प्रकट गरेको छ । विज्ञप्तिमा साउदी अरबको मानव अधिकार उल्लंघन विशेषगरी आप्रवासी कामदारले सहनु परेको श्रम दुर्व्यवहार हुन नदिने प्रतिबद्धताविना नै फिफा प्रतियोगिता आयोजना गर्न दिने निर्णय गर्न लागेकोमा आपत्तिसमेत प्रकट गरिएको छ ।
साउदी अरबमा रहेका आप्रवासी कामदारहरूले आप्रवासन चक्रको प्रत्येक चरणमा श्रम दुर्व्यवहार भोग्नु पर्ने गरेको ह्युमन राइट्स वाचले पाएको थियो । रोजगारमा भर्ती लिँदा कामदारबाट कम्पनीहरूले गैरकानुनी रूपमा अत्यन्तै धेरै रोजगारी शुल्क असुलेदेखि सुरु हुने दुर्व्यवहारको यो शृंखला साउदी अरबमा उनीहरूका रोजगारदाताले करारमा उल्लेख रोजगारी तथा लाभका शर्त पालना नगर्दासम्म जारी रहन्छ ।
साउदी अरबमा हाल १ करोड ३४ लाख आप्रवासी कामदार रहेको र त्यसमा अझै उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।