काठमाडौं। सुन्तला ग्रेडिङका लागि प्रविधिको प्रयोगले सहज हुन थालेको छ। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले मेसिनबाट सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो।
नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको ग्रेडिङ मेसिन जडान गरी काम सुरु भएसँगै सहज भएको बागवानी सञ्चालक एवं अगुवा किसान फणिनारायण अर्यालले बताए। पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौँ र बागवानी फार्मबीच सम्झौता भएर ८५ प्रतिशत अनुदानमा ५६ लाख रुपैयाँ लागतमा भारतबाट मेसिन ल्याई जडान गरिएको हो।
“निर्देशनालयको ८५ प्रतिशत अनुदान र फार्मको १५ प्रतिशत लागत साझेदारीमा सुन्तलाका क्षेत्रमा ग्रेडिङ प्रविधि नेपालमा पहिलोपटक भित्रिएको हो”, उनले भने, “मेसिन जडान भएसँगै सुन्तलाको ग्रेडिङ तथा सफा गर्न सहज भएको छ।” प्रतिघण्टा पाँच टनसम्म सुन्तला ग्रेडिङ गर्ने क्षमताको मेसिनले फोहरमैला, कालो टीका सफा गर्ने सञ्चालक अर्यालले बताए।