काठमाडाैँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि अहिले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते मुद्दाको अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । गत कात्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाटै पक्राउ परेका रविको हिरासत बसाइ लामो हुने निश्चित छ ।
रविले तत्कालीन समयमा संसदीय समितिमा दिएको हिन्दी डायलग उनकै जीवनमा चरितार्थ हुने देखिएको छ । ‘लहरो तान्दा पहरो’ भनेजस्तै सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानमा रविका बारेमा धेरै खुलासा हुँदै गएको एक उच्च प्रहरी अधिकृत बताउँछन् ।
कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले उजुरी दिएपछि रवि पक्राउ परेका हुन् । सूर्यदर्शनका बचतकर्ताको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ । उनी गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत हुन् ।
रविले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका थिए । अहिले प्रहरी हिरासतमा रहेका बेला सरकारी वकिल कार्यालयमा समेत उनले इन्कारी बयान दिन छाडेका छैनन् ।
तर, रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा रवि आफैंले हस्ताक्षर गरेर बुझाएको ४० लाख ४२ हजारको चेक भेटिएको छ । यो तथ्यले सहकारी ठगी मुद्दामा रविका विरुद्ध फेला परेको यो प्रमाण उल्लेखनीय सावित हुने देखिन्छ ।
सुप्रिमबाट गोरखा मिडियामा साढे ६ करोड रुपैयाँ ऋण प्रवाह भएको थियो । रवि आफैंका नाममा समेत २ करोड ऋण प्रवाह भएको देखिन्छ ।
यसबारे प्रहरीले सोध्दा रविले आफ्नो हस्ताक्षरसहित ड्रयरमा राखेको चेक अरू कसैले भरेर बुझाएको होला भन्ने जवाफ दिएका थिए ।
अर्कातर्फ सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्दा रविको खातामा ३५ करोड र उनकी पत्नी निकिताको बैंक खातामा १५ करोड बढी कारोबार भएको विवरण फेला परेको छ ।