काठमाडौंमा रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान

10.8k Shares

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध काठमाडौं प्रहरीले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।  कास्कीमा चारवटा मुद्दा खेपिरहेका रविलाई स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान गर्न काठमाडौं ल्याउने प्रहरीको तयारी छ । स्वर्णलक्ष्मी सहकारीबाट पनि गोरखा मिडियामा रकम गएको देखिन्छ । 

रवि जोडिएको गोरखा मिडियामा स्वर्णलक्ष्मीबाट २ करोड २८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ पेस्कीबापत गएको देखिन्छ । स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिइएको थियो ।

उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ । त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष समेत रहेका छविले स्वर्णलक्ष्मीबाट १ करोड १८ लाख २८ हजार १ सय १० रुपैयाँ पेस्कीबापत लिएको देखिन्छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले छविलाई यसअघि नै कास्कीबाट झिकाएर बयान लिइसकेको छ । सरकारी वकिल कार्यालय काठमाडौंमा बयान सकाएर उतै पठाइसकिएको छ । 

स्वर्णलक्ष्मी सहकारीको रकम गोरखा मिडियामा जानु, रवि र जीबी मिलेर संयुक्त नाममा गाडी खरिद गर्नु र छविले समेत स्वर्णलक्ष्मीबाट ऋण लिएको देखिनुले संगठित अपराधको मुद्दा पनि आकर्षित हुने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । 

गोरखा मिडियामा रहँदा जीबी, रवि र छविको नाममा ग्लोबल आईएमई बैंकमा संयुक्त खाता सञ्चालनमा थियो । सहकारीको ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडियामा ल्याएर अपचलन हुँदा २५ करोडको चेकमा रविकै हस्ताक्षर प्रयोग भएको छ । त्यस्तै, गोरखा मिडियाबाट रवि आफैंले पनि पेस्कीबापत रकम लिएका छन् । 

गोरखा मिडिया नेटवर्कबाट रविले ऋण तथा पेस्कीबापत २ करोड लिएको देखिन्छ । छविले भने ५ करोड ५५ लाख २२ हजार ७ सय १४ रुपैयाँ ऋण तथा पेस्की लिएका छन् । 

‘रवि र छविले गोरखा मिडिया नेटवर्कबाट लिएको ऋण नै सहकारीबाट भित्रिएको रकम भएको दाबी हामीले गरेका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘स्वर्णलक्ष्मीबाट लिइएको ऋण त अझै तिर्नै बाँकी देखिन्छ ।’

कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की पुर्‍याइएका रविले कास्की प्रहरीको हिरासतमा ३८ दिन बिताइसकेका छन् ।

कास्की प्रहरीको समन्वयमा रविमाथि अनुसन्धान गर्न केन्द्रबाटै प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुन्दर तिवारीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । 

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० दीपक थापाले कास्की प्रहरीको समन्वयमा आफ्नो प्रहरी टोलीले अनुसन्धान गरिरहेको बताए ।

उनले भने, ‘हाम्रो टोली उतै छ, प्रमाण संकलन गरिरहेको छ, बयान लिने काम भइरहेको छ ।’ 

थापाका अनुसार काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान गरिरहेकाले उसले सरकारी वकिल कार्यालय लगेर बयान लिएर पुनः कास्की नै पठाउने छ ।

सम्बन्धित समाचार