डडेलधुरामा बेग्लै देखिए देउवा!

14.8k Shares

काठमाडौँ -  बसाइँसराइले रित्तिँदै गएको सुदूरपश्चिम पहाड यतिबेला भने गुलजार छ। दसैं–तिहारमा नभित्रिएको रौनक त्यसपछि भने पहाडी रस्तीबस्ती पसेको छ। किनभने पहाडमा चलिरहेको ‘देउपर्व’ उत्कर्षमा छ ।

केही वर्षअघिसम्म त दसैंतिहार नलाग्दै रौनक यसैगरी पहाड पस्थ्यो। सहरतर्फ पढाइलेखाइ र रोजगारीका लागि अस्थायी बसाइँ सरेका युवाहरू चाडपर्वमा उल्लास लिएर गाउँ फिर्थे। अहिले समय उल्टिएको छ, स्थायी रूपमै बसाइँ सरेका सन्तानसँग चाडपर्व मनाउन वृद्ध आमाबाहरू सहर पस्छन्। विदेशमा पुगेका कतिपय युवाले आफ्ना आमाबुबालाई चाडपर्व मनाउन उतै डाक्न थालेका छन्।

यसरी समय फेरिएपछि सुदूर पहाडले उत्सव खोज्न ‘देउपर्व’ पर्खनुपर्छ। यो समयमा सुदूरपश्चिमेलीका थरीथरी समाजले आआफ्ना इस्टकुल देवताको पूजा आराधना गर्छन्। पूजाआराधनाका क्रममा विभिन्न ठाउँ तथा गाउँटोलमा ठुल्ठुला जाँत (जात्रा)मेला लाग्ने गर्छन्।  

चाडबाड घरपरिवारसँग अन्यत्र जहाँ बसेर मनाए पनि कुल देवताको पूजामा सरिक हुन भने थातथलोमै फर्कनुपर्छ। देवताका भराँण (भण्डार घर) देखि माणु (मन्दिर) सम्म प्राचीन थलोमै हुन्छन्। त्यसमा पनि कुलदेवताको पूजा एकजना व्यक्तिले भन्दा पनि समाजले सामूहिक रूपमा गर्ने उत्सव हो।

यसर्थ यस्ता ग्राम देवताका पूजामा करिया (पूजामा विभिन्न काम गर्नेहरू) त पुग्नुपर्छ नै, देवतालाई पुस्तौंपुस्तादेखि श्रद्धा वा आस्था राखेर कुलदेवता मानेकाहरू पनि त्यही आस्था बोकेर पुग्ने गर्छन्।

यसरी एकैसाथ मानिसको भिड र जात्रामेला लाग्दा पहाडी समाज गुलजार हुनपुग्छ। यो भिडमा कैयौं व्यक्ति हुन्छन्, जो वर्षौंसम्म यो कर्ममा सहभागी हुन नसकेका हुन्छन्। सक्रिय जीवनकालको दैनन्दिन संघर्षका दौरान युगौंयुगको पुख्र्यौली सिलसिलामा सहभागी हुन नभ्याएकाहरू बुढेसकालमा भए पनि एकपटक पुग्छन्, देवताको पूजामा सहभागीसँगै आफ्ना बाल्यकालका स्मृति केलाउँछन् र पुर्खालाई सम्झन्छन्।

यस्ता तमाम वृद्धवृद्धाहरू सुदूर पहाडका बस्तीबस्तीमा छन्। जो जीवनका बाँकी दिनका लागि पुराना स्मृतिहरू कोट्याउँदै पुर्खाको क्रमिक सिलसिलामा ढिलै भए पनि जोडिन आइपुगेका छन्। यसपटक तीनै वृद्धमध्येका एक बनेका छन्, पाँच पटक देशको प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।

उमेरले ८० वर्ष पुग्न लागेका देउवा यसपटक देउपर्वकै बेला गृहजिल्ला डडेल्धुरा गए। जन्मथलो गन्यापधुरा गाउँपालिका–१ रुवा खोला पुगे। २३ वर्षपछि आफ्ना कुल देवताको मेलामा सरिक भए। देशको सबैभन्दा ठुलो राजनीतिक दलका सभापति रहेका देउवा फुर्सदिलाझैं बनेर झन्डै एकसाता डडेलधुरामा बिताए।

देउवाको यो डडेलधुरा भ्रमणलाई बाहिरबाट हेर्दा धेरैले राजनीतिक रूपमा बुझेका छन्। तर परिवार र नजिकबाट बुझ्नेहरू भने व्यक्तिगत एवं धार्मिक भ्रमणभन्दा बढी नरहेको बताउँछन्।

‘कुल देवताको मेलामा सहभागी हुन नपाएको धेरै वर्ष भइसकेको थियो। मेला हुने बेला जहाँ भए पनि उहाँ सम्झिराख्नुहुन्थ्यो,’ स्वकीय सचिवसमेत रहेका देउवाका भतिजा भानु देउवा भन्छन्, ‘घरायसी गफगाफमा यसपालि जसरी नि जान्छु भनिराख्नुभएको थियो। मौका पनि मिल्यो।’

देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीका अनुसार देउवा २३ वर्षपछि कुल देवताको मेलामा पुगेका हुन्। देउवा यसअघि २०५८ सालमा कुलदेवताको मेलामा सहभागी हुन रुवा खोला पुगेका थिए। ‘उहाँका कुलदेवता असिम हुन्। यस्तै लाटा गन्यापका पनि देउवाहरू हकदार हुनुहुन्छ,’ अध्यक्ष कार्कीले भने। आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार