काठमाडौं– अपहरण तथा शरीर बन्धकको कसुरमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा रसुवाको गोसाईकुण्ठ थुमनका ३१ वर्षीय बुद्धिबहादुर तामाङ, गोसाईकुण्ड भार्खुकै ३८ वर्षीय नुर्पु सिंगी तामाङ, गोसाईकुण्ड धुन्चेका ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवाको कालिका राम्चेका ४८ वर्षीय गोपाल तामाङ छन्।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३० कात्तिकमा पक्राउ गरेको हो। यो समूहले ४ असोजमा काठमाडौंको माछापोखरीबाट व्यक्ति अपहरण गरेको आरोप छ।
अपहरण गरी ट्याक्सीमा राखेर बुढानीलकण्ठ नारायणस्थानस्थित शैलजा रिसोर्टमा लगेर बन्धक बनाइएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए।
आँखामा पट्टी बाँधी बन्धक बनाउँदै कुटपिट गरेको र चेक काट्न समेत लगाएको आरोप यो समूहमाथि छ। पक्राउ परेकाहरुमाथि अपहरण तथा शरीर बन्धकको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ।