गाजामा इजरायली हवाई आक्रमण, कम्तीमा २० जनाको मृत्यु

10.8k Shares

एजेन्सी । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली हवाई आक्रमणमा चार महिला र तीन बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको जानकारी दिएको हो ।

मध्य गाजाको बुरेज शरणार्थी शिविरमा भएको आक्रमणमा परी १० जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बसालले जानकारी दिए। शिविरको एक घरमा भएको अर्को आक्रमणमा परी कम्तीमा एक महिलाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् ।

दक्षिणी शहर राफामा आइतबार बिहान इजरायली ड्रोनले आक्रमण गरिएको र यसका कारण कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएको बासलले जानकारी दिए ।

मध्य गाजाको नुसिरात शिविरको पश्चिममा रहेको एक घरमा रातभर भएको आक्रमणमा परी तीन महिला र एक बालकसहित अन्य चार जनाको मृत्यु भएको उनले बताए ।​

गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार १३ महिनाभन्दा बढी चलेको युद्धमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४३ हजार ७९९ पुगेको जनाएको छ । मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ र यसलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको छ ।

सम्बन्धित समाचार