आजको युग डिजिटल युग हो । डिजिटल युगसँगै दिनदिनै नयाँ नयाँ प्रविधिहरू विकसित भइरहेका छन्– मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याबलेट आदि । इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग पनि दिनानुदिन बढ्दो छ । गाउँ होस् या शहर, बालबालिका, युवा हुन् या पाको उमेरका, देशमा होस् या विदेश संसार एउटै छाना भइसकेको छ ।
प्रविधिको विकाससँगै विकृति र विनास पनि बढिरहेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग, कोरोना भाइरसको माहमारीसँगै कार्यालयको काम घरबाट, अनलाइन पठनपाठन लगायतका कारणले गर्दा यसको प्रयोग दिनानुदिन बढ्दो छ । अविभावकहरूले आफ्नो व्यस्तताको कारणले साना–साना बालबालिकाको हातमा मोबाइल वा ल्यापटप दिने गरेका हुन्छन् भने कतिपय अभिभावक एकातिर बच्चाहरूलाई यस्ता सामग्री दिएर अर्काेतिर घण्टौंसम्म सोसल मिडियामा व्यस्त हुने गरेको पाइन्छ ।
हामीले फुर्सद मिल्यो कि सामाजिक सञ्जालमा जतिपनि समय कटाइदिन सक्छौं । दिन होस् या रात, धेरै समयसम्म मोबाइलमा गेम खेलिरहने, चाहिने नचाहिने साइटहरू हेर्ने, घण्टौंसम्म युटुबमा भिडियोहरू हेर्ने जस्ता बानीको विकास भइरहेको पाइन्छ, युवा पुस्तामा ।
आजभोलि साना साना बालबालिका रोए वा खाना खान मानेनन् भने मोबाइल÷ल्यापटप देखाएर मनाउने वा खाना खुवाउने गरिन्छ । यो खराब बानी बालबालिकाहरूले सानै उमेरबाट नै आफ्ना अभिभावकमार्फत् सिकिरहेका हुन्छन् । जसको कारण लामो समयसम्म बच्चाहरूको बानी नै मोबाइल÷ल्यापटप चलाउने भइसकेको हुन्छ । यसको सबैभन्दा बढी असर बच्चाको आँखा, दिमाग र व्यक्तित्व विकासमा समेत पर्छ ।
जस्तैः बच्चा सानो–सानो कुरामा रुने–कराउने वा छिटो–छिटो रिसाउने, मोबाइलबिना एक ठाँउमा शान्तसँग बस्न नसक्ने वा रिसाइ रहने, पढाइ÷लेखाइमा ध्यान नदिने, सानो सानो कुरामा झगडा गरिरहने, परिवारका सदस्यसँग कुराकानी गर्न नचाहने तर एकान्तमा बस्न मन पराउने, कोही आफन्त इष्टभित्र कसैको मतलब नगर्ने इत्यादि ।
बच्चामा माथि उल्लेखित ल्याकतले कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका उपकरणले आँखामा तत्कालीन तथा दीर्घकालीन असर गर्छ । तत्कालीन असरहर ः आँखा पोल्ने, बिझाउने, टाउको दुख्ने, आँखाबाट आँसु आउने, आँखा रमरम हुने, निद्रा लागेजस्तो हुने, थकान महशुस हुने, छिटो–छिटो रिस उठने लगायतका समस्या हुन्छन् ।
दीर्घकालीन असरहरू ः आँखाको पावर कम हुँदै जाने, आँखा एकदम सुख्खा हुने, आँखा सधै रातो भइरहने, मन्द मन्द टाउको दुख्ने, आँखामा मासु पलाउने, आँखाको नानी तथा रेटिनामा असर पर्दछ । लगातार कम्प्युटर तथा मोबाइल चलाउँदा आँखालाई बल पर्छ । लगातार एकोहोरो रुपमा कम्प्युटर तथा मोबाइल चलाउँदा आँखामा भएको आँसुको तह उडेर जान्छ । आँखामा भएको आँसुको तह उडेर गएपछि आँखाको नानीमा असर पुग्छ ।
यस्तो समस्याबाट बालबालिकाहरूलाई बचाउन धेरै महत्वपूर्ण छ । यस्ता समस्या सुरु भएमा र समयमै सावधानी नअपनाइएमा दिनदिनै बच्चाको आँखा कमजोर हुँदै जान्छन् । जसको कारण बच्चाहरूमा दृष्टिदोष हुने र आँखा टेढो हुने सम्भावना हुन सक्छ । यसले गर्दा बच्चाको पढाइ÷लेखाइका साथसाथै मानसिक विकास, व्यक्तित्व विकास, समाजिक विकासमा पनि नकारात्मक असर पर्ने र भविष्यमा कुनै काम गर्दा आत्मबल कमजोर हुने हुन्छ । जसले परिवार र समाजमा नकारात्मक असर पार्न सक्ने सम्भावना हुन सक्छ ।
तर समयमै यसतर्फ ध्यान दिई विभिन्न समाधानका उपायहरू अप्नाउन सकिन्छ ।
–बन्दकोठा भन्दा बाहिरी वातावरण जस्तै खुल्ला चौर, बगैँचा, घरको आँगन, छत, उज्यालो घाम आउने ठाउँहरूमा बालबालिकाहरूलाई कम्तिमा दिनको दुई तीन घण्टा खेल्न प्रोसाहन गर्नुपर्दछ ।
–अध्याँरो कोठामा धेरै समयसम्म त्यस्ता सामानहरू नचलाउने, चलाउनै परे कोठाको बत्तीहरू बाली चलाउनु पर्दछ ।
–आँखाको नजिकै राखी नचलाउने, कम्तिमा पनि आँखावाट ५०÷६० सेन्टिमिटरको दूरीमा राख्ने ।
–एकोहोरो हेरिरहँदा असर पर्ने हुँदा एक पटकको लागि बढीमा तीस मिनेटको समयसम्म प्रयोग गर्ने ।
–बेलाबेलामा आँखाको परेला झिम्काइरहने, साथै अलि टाढाको कुराहरू हेर्ने ।
–बेलाबेलामा आँखाको सरसफाइमा ध्यान दिने ।
–करिब ९० प्रतिशत मानिसमा आँखालाई सही तरिकाले सफा गर्न आउँदैन ।
–पानीमा आँखा डुबाउने वा आँखा पानीले पखाल्ने दुवै सफा गर्ने गलत तरिका हुन् ।
–आँखाको वरिपरि मात्र सफा गर्नुपर्छ । आँखा भित्रको सफाइ आँखा आफैंले गर्ने गर्छ ।
–सही तरिकाले आँखा सफा गरेमा पनि आँखाका धेरै समस्या आफैं हटेर जान्छन् ।
–आँखाको स्वास्थ्यका लागि प्रशस्त मात्रामा पानी पिउनुपर्दछ । हरियो सागसब्जी फलफूलको प्रशस्त सेवन गर्ने गर्नुपर्दछ ।
–जाँड, रक्सी, खैनी, सुर्ति, चुरोटजस्ता नसालु पदार्थ सेवन गर्नु हुँदैन ।
–ल्याबटप तथा कम्प्युटर १ सय १५ डिग्रीको एङ्गलमा चलाउनुपर्छ ।
–कम्प्युटर, ल्यापटप, मोबाइल चलाउँदा समय समयमा बेस्सरी आँखा झिम्काउनुपर्छ ।
–२० मिनेटसम्म लगायतार यी उपकरण चलाएको छ भने २० सेकेण्डसम्म टाढा हेर्ने र २० सेकेण्ड आँखा बन्द गर्ने गर्नुपर्दछ ।
–आँखालाई धेरै बल तथा तनाव दिनु हुँदैन । (विभिन्न एजेन्सीहरुको सहयोगमा)