गोर्खा मिडिया जोडिएका ५ वटा सहकारीको फाइल खुल्यो

12.2k Shares

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएका अन्य चारवटा सहकारी संस्थाको रकम अपचलनमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसँगै उनका व्यावसायिक साझेदार छविलाल बन्जाडे जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन् ।

पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय ५० जना सर्वसाधारणले बचत गरेर राखेको रकम हिनामिना भएपछि जिल्ला अदालत कास्कीले १४ जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति दिएको थियो । जसमध्ये गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि एक हुन् । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक जोशी र कुमार रम्तेलले हिनामिना गरेको प्रहरीले निष्कर्ष निकालेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र कास्की प्रहरीले गरेको अनुसन्धानमा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले सहकारीको ऋण प्रयोग गरिरहेको गोरखा मिडिया प्रालिले कम्पनी कानुनका आधारभूत मूल्यमान्यतासमेत पालना नगरेको भेटिएको छ । कुनै पनि कम्पनीले आफ्नो योजना देखाएर त्यसैलाई धितो मानी बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिने चलन हुन्छ, जसलाई प्रोजेक्ट लोन(परियोजना ऋण) भनिन्छ ।

तर, गोर्खा मिडिया कम्पनीले कम्पनी ऐनकै उल्लंघन गरेको भेटिन्छ । सहकारीको रकम स्विकार्ने क्रममा गोर्खा मिडियाका सञ्चालकहरूले कुनै पनि प्रक्रिया पूरा नगरेको भेटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जनायो ।

बुटवलको सुप्रिम सहकारी र चितवनको सहारापछि अब वीरगन्जको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान पनि प्रहरीले अगाडि बढाएको हो । बुटवलको सुप्रिम सहकारी ठगीमा पहिलो चरणको अनुसन्धानमा जीबी राई भनिने गीतेन्द्रबाबु राईसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको भए पनि लामिछानेविरुद्ध मुद्दा दायर भएको थिएन ।

दोस्रो चरणमा लामिछानेविरुद्ध पूरक अभियोगपत्र लैजाने तयारीमा प्रहरी छ । प्रहरीले सो सहकारीको ठगीमा लामिछानेमाथि अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी लिइसकेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धान पूरा भएपछि लामिछानेलाई पक्राउ गरेर बुटवलको सुप्रिम सहकारी ठगीमा अनुसन्धान हुनेछ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार