काठमाडौं । काठमाडौंको ठमेलस्थित कमलपोखरी मासेर छायादेवी सेन्टर बनाइएको कि.नं. १६७ को जग्गा गुठियारले आफ्नो अधिकार क्षेत्र मिचेर व्यक्तिका नाममा मोही कायम गरेको विषयमा गम्भीर प्रश्न उठेको छ । मोही हक कायमसँगै कमलपोखरी मासेर व्यक्तिका नाममा कायम भएसँगै यो विवाद अहिले सर्वोच्चमा छ ।
बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवान् बहालअगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेका नाममा व्यापारिक कम्प्लेक्स बनाएको सो जग्गामा व्यक्तिको मोही कायम हुँदै किनबेच भएको जग्गा हो । सो जग्गा व्यक्तिको हुने कि गुठीको नाममा रहेको सार्वजनिक पोखरी भन्ने विषय विवादमा छ । गुठीको नाममा रहेको ऐतिहासिक कमलपोखरी मासेर व्यक्तिका नाममा बनाइएपछि छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरी श्रेष्ठलगायत १५ थान मुद्दा सर्वोच्चमा छन् ।
२०३३ सालमा सो जग्गाका विषयमा गुठियारले मिलापत्रका आधारमा केयुरशमशेरका नाममा मोही कायम गराउँदा गरुड भगवान्का नाममा सो जग्गा कायम हुने र मोहीका नाममा भोगचलन गर्ने भनेर कायम गरेको देखिन्छ । गुठियारको क्षेत्राधिकारभन्दा बाहिर गएर कमलपोखरीलाई मोही कायम गराई सो जग्गालाई पछि किनबेच गरेर व्यक्तिका नाममा प्रयोगमा ल्याइएको थियो । २०४४ सालसम्म आउँदा पनि सो जग्गा श्री ५ को सरकारको नाममा दर्ता भएको पाइन्छ । दर्ता गरिएको कमलपोखरीको कित्ता नं. १६७ को १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गाको विवरणमा आवादीमा पर्ती पोखरी र घरजग्गाको महलमा पोखरी कायम गरिएको छ भने जग्गाधनीको नाममा श्री ५ को सरकार लेखिएको छ ।
गुठी संस्थानको जानकारीबिना सरकारको स्वामित्वमा भएको राजगुठीको जग्गा यसरी व्यक्तिका नाममा दर्ता गर्न र मिलापत्रका नाममा कसैलाई हस्तान्तरण गर्नै मिल्दैन । आश्चर्य के छ भने यसमा अदालतको समेत रोहबर देखिन्छ । अदालतसमेतको रोहबरमा कुनै राजगुठीको जग्गा व्यक्तिका नाममा मोही हक कायम गराउन मिल्छ कि मिल्दैन भन्ने गम्भीर प्रश्न उठेको छ ।
गुठी ऐनविपरीत २०३३ र २०६२ सालमा मिलापत्र गराएर व्यक्तिका नाममा दर्ता
थहवी विक्रम शील महाविहार राजगुठीको संरक्षणमा रहेको कमलपोखरी, डिल र चोकसमेत २६ रोपनी ८ आना क्षेत्रफलको जग्गाका नाइके हिरण्यश्वरमान प्रधानसमेतले २०३३ र २०६२ सालमा गुठी संस्थानको ऐनविपरीत मिलापत्र गरी व्यक्तिका नाममा दर्ता गर्न सहीछाप गरिदिएकाले हाल सो गुठीको कार्यसमितिका अध्यक्ष हिरण्यश्वरमानका छोरा सुरेन्द्रमान प्रधानसमेतले सार्वजनिक पोखरी र पोखरीको डिलसमेतलाई व्यक्तिका नाममा रहेको छाया कम्प्लेक्स प्रालि कम्पनीका नाममा हक हस्तान्तरण गर्न सहमतिपत्र दिएका हुँदा थुनामा राखी कारबाही गरी कि.नं. साविक १६७ को हाल कायम २४१२, २४१३, १६१७, २०१९, १०४० समेतका कित्ताहरू सार्वजनिक गरी सो जग्गामा बनाइएका संरचना भत्काउनुपर्ने माग स्थानीयले समेत गरेका थिए । आजको राजधानी दैनिकबाट