वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

15.3k Shares

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण हुने दर भने अझै घटेको छैन । विगतमा चिसो बढ्न थालेसँगै डेंगु संक्रमण घट्ने गथ्र्यो, तर विगत ३ वर्षयता भने चिसो मौसममा डेंगु संक्रमण दर बढिरहेको देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामी दैनिक १५ देखि २० जना पुग्ने गरेका छन् । चिकित्सकहरूका अनुसार चिसो मौसम सुरु हुँदा पनि डेंगु संक्रमण घटेको छैन । चिसो बढ्दा पनि डेंगुको संक्रमण देखिइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकले पनि देखाँउछ । वर्षा सकिएसँगै लामखुट्टे हुर्कने वातावरण अनुकूल बन्दै जाँदा पछिल्लो समय डेंगु संक्रमण बढिरहेको चिकित्सकहरूको भनाइ छ ।

यस वर्ष पानी पर्न छाडेपछि अक्टोबर महिनामा मात्रै देशभर ४ हजार ३० जना डेंगुबाट प्रभावित भएको तथ्यांकले देखाएको छ । गत वर्ष पनि अक्टोबरमा मात्रै १२ हजार ६ सय ९९ जनालाई डेंगु संक्रमण देखिएको थियो । गत वर्ष नोभेम्बरमा मात्रै डेंगु संक्रमण दर २ हजार ८ सय ५ जनामा देखिएको थियो । यस वर्ष डेंगुको संक्रमण अझै दुई सातासम्म देखिनसक्ने चिकित्सकहरूको भनाइ छ ।

पछिल्लो वर्षको तथ्यांक हेर्दा डेंगु संक्रमण १२ महिना नै देखिएको छ । सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर, पछिल्लो समय यसभन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय रहेको पाइएको छ । जलवायु परिवर्तन र तापक्रम वृद्धिको कारण डेंगु सार्ने लामखुट्टे सक्रिय भएको पाइएको हो ।

जनस्वास्थ्यविद् कृष्णप्रसाद रिजालका अनुसार तराईका जिल्लामा विगतका वर्षमा प्रकोपको रूपमा देखिएको डेंगु संक्रमण घटेको पाइएको थियो । डेंगु संक्रमण गराउने लामखुट्टे ३५ डिग्री सेल्सियस नाघेपछि बाँच्न नसक्ने भएकाले पनि विगतमा गर्मी बढेसँगै संक्रमण दर घटेको थियो । पहाड र हिमालमा भने संक्रमण बढ्नुमा डेंगु गराउने लामखुट्टे १३ डिग्री सेल्सियससम्ममा बाँच्नसक्ने विज्ञको भनाइ छ ।

जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा लामखुट्टे उच्च क्षेत्रमा विस्तार हुने दर बढेको छ । नेपालको हकमा डेंगु गराउने लामखुट्टे २ हजार मिटरसम्म फैलिसकेको छ । एक अध्ययनले न्यूनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत मलेरिया बढ्ने जनाएको छ । यसै कारण नेपालमा मात्र नभएर विश्वभरि नै लामखुट्टेजन्य रोग महामारी बन्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।

जलवायु परिवर्तनका कारण उच्च स्थानमा फैलिएका लामखुट्टेका कारण मलेरियाको उच्च जोखिम देखिएको जर्ज टाउन युनिभर्सिटी मेडिकल सेन्टरको अध्ययनले निष्कर्ष निकालेको छ । सो विश्वविद्यालयका वैज्ञानिकहरूले उच्च स्थानतिर मलेरिया सार्ने मुख्य भूमिका लामखुट्टेको भएको जनाएका छन् । सो अध्ययनअनुसार अफ्रिकातिर औसतमा प्रत्येक वर्ष ६ दशमलव ५ मिटर (२१) फिटमाथि लामखुट्टे सर्दै गएको छ । त्यसैगरी, भूमध्य रेखाको दक्षिणी भागतिर प्रतिवर्ष ४ दशमलव ७ किलोमिटर सर्दैगएको छ । पछिल्लो ४० वर्षको तथ्यांक हेर्दा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढीले पहाड र हिमालको तापक्रम बढिरहेको छ । आजको राजधानी दैनिकवाट 

सम्बन्धित समाचार