देशभर डेंगु संक्रमितको संख्या १९ हजार नाघ्यो

15.2k Shares

काठमाडौँ- देशभर डेङ्गु सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ। डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन्।

डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ। डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ। काठमाडौँमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन्।

यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्, “पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना हुन्छ। दशैँ लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन्। समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ।”

विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो।

सम्बन्धित समाचार