दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !

14.6k Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग ऊर्जामन्त्री दीपक खड्काले १५ बुँदे स्पष्टीकरण सोधेका छन् ।

डेडिकेटेड र ट्रंकलाइन विवादमा बक्यौता नतिरेका उद्योगको लाइन काटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलाई उल्लंघन गरेदेखि सरकार र प्राधिकरणको विवाद सतहमा आएको थियो ।

विभिन्न सार्वजनिक कार्यक्रममा सत्तासीन दलका नेताहरूले प्राधिकरणले काल्पनिक नाफा नदिएको र कुलमानले भ्रष्टाचार गरेको भनेर आरोप लगाउँदै आएका छन् ।

यहीक्रममा कुलमानकोे कामको मूल्यांकन, काल्पनिक नाफा देखाएको, गुणस्तरीय बिजुली नदिएको, ट्रान्सफरमर तथा बिजुलीका तारलगायतका खरिद टेन्डरलाई समेत उल्लेख गरेर स्पष्टीकरण सोधिएको बताइएको छ ।

ट्रान्सफर्मर, पोल खरिद र टेन्डर आह्वान तयारीमा स्मार्ट मिटरलगायतका सामग्री खरिदमा भ्रष्टाचारको आशंका गर्दै १५ बुँदे स्पष्टीकरण सोधिएको बताइएको छ ।

गत आमनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कार्यकारी निर्देशक घिसिङको तस्बिर प्रयोग गरेर निर्वाचन प्रचार गरेको भन्दै कुलमानलाई गत वैशाखमा पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो ।

तर, यसपटक भने मन्त्री दीपक खड्काले प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फछ्र्योट हुन बाँकी बेरुजुको अध्यावधिक विवरणलगायतका विवरण माग्दै स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणको अध्यक्षसमेत रहेका मन्त्री खड्काले १५ दिनभित्र १५ वटै बुँदामा विवरण उपलब्ध गराउनुपर्नेगरी स्पष्टीकरण सोधेका हुन् ।

बुधबार बिहान मन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका थिए । कोरम नपुग्ने भएपछि बैठक स्थगित गरिएको थियो । सामान्यतः प्राधिकरणले बोलाउनुपर्ने बैठकलाई मन्त्री आफैंले निमन्त्रणा पठाएका थिए ।

बैठक बस्न नसकेपछि उनले घिसिङलाई १५ बुँदे स्पष्टीकरण माग गरेको बताइएको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार