वीरगन्ज । मुलुकको प्रमुख प्रवेशद्वार पर्साको ‘वीरगन्ज’ आर्थिक नगरीको नामले देशैभर चिनिन्छ । आर्थिक गतिविधि बढि हुने र मुलुकको प्रमुख भन्सार नाका मात्र भनेर देशको राजधानी काठमाण्डौले प्रायः वीरगन्जलाई चिन्ने गरेको छ । तर स्थलमार्ग भई ‘धार्मिक पर्यटक’ आगमन हुने प्रमुख नाका पनि हो ‘वीरगन्ज’ ।
हवाईजहाजबाट उडेर आउने गोरा पर्यटकलाई मुलुकले अलि बढि पर्यटकको परिभाषामा समेट्दै आएको देखिन्छ । तथापि स्थलमार्गबाट धार्मिक पर्यटक हरेक दिन सीमावर्ती शहर वीरगन्ज हुँदै भित्रिने गरेका छन् । अंग्रेजी नयाँ वर्ष वा छिमेकी मुलुक भारतको बिशेष विदाका दिनहरुमा नेपाल आउने भारतीय पर्यटकको त वीरगन्ज नाकामा लाइन नै लाग्छ ।
त्यसैगरी चाडपर्व अझ बडादशैंको समयमा पनि वीरगन्जमा सीमा उपारका धार्मिक पर्यटक उज्यालो हुनााथ आइपुग्ने गरेका छन् । वीरगन्ज सहित पर्साका विभिन्न शक्तिपीठहरुमा सीमा वारिपारीका भक्तजन सरोबरी जस्तो हुन्छन् । यताका देवस्थल तथा विभिन्न शक्तिपीठहरुको उचित प्रचार–प्रसार हुन सके अझ वीरगन्ज क्षेत्र लगायत नेपाल नै धार्मिक पर्यटकका लागि गन्तव्य सावित हुन सक्ने वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको भनाइ छ ।
धार्मिक पर्यटक आगमनको प्रमुख नाका भएकोले धार्मिक पर्यटक लोभ्याउने शंकराचार्य प्रवेशद्वारसँगै वीरगन्जको मुटुमा रहेको गहवामाई मन्दिरमा अवस्थित दुर्गा माता सहित उनका सात दिदीबहिनीका शक्तिपीठको धार्मिक सर्किट वीरगन्ज बजार आसपासमा नै रहेको नगरप्रमुख सिंह बताउँछन् ।
वीरगन्ज महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि शक्तिपीठमा अवस्थित दुर्गाका ७ दिदीबहिनीको थप चर्चा उनैले ल्याएका छन् । त्यसैगरी पर्साको नाम नै रहन गएको पारसनाथ मन्दिरको महिमा पशुपतिनाथ सहर रहेको भारतीय धार्मिक पर्यटकले बताउने गरेको ज्येष्ठ नागरिकहरुको भनाइ छ ।
त्यसैगरी पर्साकै भाथाधाममा अवस्थित दुग्धेश्वर महादेव, वीरगन्जमा नै अवस्थित पशुपति नाथ, विन्दवासीनी माई, भुटनदेवी माई लगायत शक्तिपीठहरुमा बर्षेनी लाखौं भारतीय पर्यटक आउने गरेको सीमावर्ती शहरका स्थानीय जो कोहीले देखेका छन् ।
अनि वीरगन्जसँगै जोडिएको बाराको ऐतिहासिकस्थल समेत रहेको ‘सिम्रौनगढ’ र पञ्चवर्षीय मेला लाग्ने प्रख्यात गढीमाई मन्दिर पनि वीरगन्ज नजिकै रहेका यो क्षेत्रका धार्मिक पर्यटक लोभ्याउने धरोहरहरु हुन् ।
हरेक पाँच वर्षमा भव्य मेला लाग्ने बाराको गढीमाई मन्दिरमा नै लाखौ भारतीय पर्यटक आउने गरेको यो वर्ष पनि आगामी मंसिर भित्र आफै पुष्टि हुँदैछ । कारण गएको घटस्थापनाको दिनदेखि गढीमाई मेलाको शुभारम्भ भइसकेको छ । वीरगन्ज र आसपासका शक्तिपीठहरु मध्येको धार्मिक स्थल गहवामाई (माईस्थान) को यहाँ अलि बढी चर्चा गरिएको छ । आजको राजधानी दैनिकबाट