काठमाडौं । सर्वाेच्च अदालत बार एसोसिएसनको अध्यक्ष हुँदा न्यायालयमा विकृति मौलाएको छ भनेर औंला ठड्याउने प्रकाशमानसिंह राउतले त्यही न्यायालय प्रमुखको शपथ लिएर सर्वोच्च अदालत प्रवेश गरेका छन् । बारको अध्यक्ष हुँदा उनले देखेको न्यायालयको विकृति नियन्त्रणमा पहिलो चुनौती देखिएको छ ।
नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहणपछि पदभार ग्रहण गरेलगत्तै न्यायालय अब लयमा फर्किने बताए । उनले यसअघि संसदीय सुनुवाइ समितिमा पनि बिचौलिया र अदालतभित्र हुने भ्रष्टाचारमा सूक्ष्म निगरानी संयन्त्र निर्माणदेखि भ्रष्टाचार नियन्त्रणका लागि अलग्गै संयन्त्र बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । त्यसो त यसअघिको न्यायालयभित्र हुने विकृति र विसंगति नियन्त्रणका लागि गठित समितिको सदस्यसमेत भएकाले अब उनको काँधमा न्यायालय सुधार गर्नुपर्ने चुनौती देखिएको छ ।
कानुन व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्च अदालतमा नियुक्त भएका उनी १६ चैत २०८२ सम्म प्रधानन्यायाधीश हुनेछन् । राउत १७ साउन २०७३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन् । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्ष भइसकेका उनी वरिष्ठ अधिवक्ता हुँदा सर्वोच्च अदालतमा नियुक्त भएका थिए । सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा काम गरेको ८ वर्षपछि उनले न्यायपालिकाको नेतृत्व गर्ने अवसर पाएका हुन् ।
१७ साउन २०७३ मा न्यायाधीश बनेका उनी छोटो समयमै न्यायालयको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् । २०७३ सालमा हालकै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार थियो । सोही समयमा त्यतिबेलाका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सम्मिलित न्यायपरिषद् बैठकले राजनीतिक भागबन्डाका आधारमा ११ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो ।
२०७२ फागुनमा न्यायपरिषद् बैठकले ११ जना न्यायाधीशको नाम सिफारिस गर्दा राउतलाई त्यतिबेलै प्रधानन्यायाधीशको वरीयताक्रममा राखिएको थियो । कानुनमा स्नातक गरेका राउत कानुन व्यवसायमा हुँदा देवानी, फौजदारी एवं संवैधानिक मामिलामा रुचि राख्ने एवं विभिन्न सार्वजनिक र निजी संस्थाहरूमा कानुनी सल्लाहकारका रूपमा संलग्न भइसकेका छन् । आजको राजधानी दैनिकबाट