काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को जारी २३औं राष्ट्रिय सम्मेलनको बन्दसत्र बुधबार स्थगित भएको छ । उमेर हदबन्दीको विषयलाई लिएर महाधिवेशनमा ‘भद्रगोल’ अवस्था सिर्जना भएपछि बन्दसत्र आज (बिहीबार) समस्या समाधान गर्दै सुरु हुने बताइएको छ ।
अखिल क्रान्तिकारीको अध्यक्षमण्डलले विज्ञप्ति जारी गर्दै बुधबारका लागि तय भएको बन्दसत्र स्थगित भएको र आज (बिहीबार) बिहान १० बजे पुनः सञ्चालन गरिने जानकारी दिएको हो । गत १० असोजमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको महाधिवेशनमा नेतृत्व चयन विषयमा समेत विवाद भएको छ ।
अखिल क्रान्तिकारीमा नेताहरूको उमेरहद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ । उमेरहद लागू भएमा अहिले नेतृत्वको दाबी गरेका लगभग सबै नेताको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ । आफ्नो राजनीतिक करिअर नै सकिने भएपछि धेरै सिनियर विद्यार्थी नेता उमेरहदको विपक्षमा उभिएका छन् । उमेरहद नै नराख्ने भन्ने विषयमा विवाद अल्झिएर लम्बिइरहेको हो । विवाद नटुंगिएपछि त्यसको समाधान गर्ने जिम्मेवारी उपमहासचिव शक्ति बस्नेतले पाएका थिए ।
बस्नेतले मंगलबार रातिसम्म बागबजारस्थित होटल हार्दिकमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्षहरू हिमाल शर्मा, रमेश मल्ल, नरेन्द्र न्यौपाने र वर्तमान अध्यक्ष पञ्चा सिंहसहितका नेतासँग छलफल गरेका थिए । तर, सो छलफलबाट पनि समाधान निस्कन नसकेपछि बन्दसत्र नै स्थगित गरिएको हो ।
गत बिहीबारदेखि सुरु महाधिवेशनको एक साता हुँदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन । संगठनमा उमेरहद’बिषयको विवाद चुलिएपछि महाधिवेशन नै अन्योलमा परेको हो ।
यसअघि पार्टीको निर्देशनमा मंगलबार उमेरहदको विवाद मतदानबाट टुंग्याउने तयारी गरिए पनि विभिन्न गुटको विवादका करण निर्वाचन प्रक्रिया नै सुरु हुन सकेन । उमेरहद विवाद नै टुंगिन नसकेपछि नेतृत्व चयनको विषय त अझै धेरै पछाडि रहेको महाधिवेशनमा सहभागी प्रतिनिधिले बताएका छन् । कयौं प्रतिनिधि त महाधिवेशन अन्योल बनेपछि घर फर्किन थालेका छन् ।
उमेरहदको विवादमा आपसमा कुर्सी हानाहानको अवस्था सिर्जना भएको थियो । अनेरास्ववियु क्रान्तिकारीमा विवाद बढेपछि पार्टीले हस्तक्षेपको तयारीसमेत गरेको छ । अब महाधिवेशन हलले उमेरहदको विवाद टुंग्याउन नसकेपछि पार्टीले निर्णय लिन लागेको बताइएको छ । क्रान्तिकारीको महाधिवेशन’bout निर्णय लिन अध्यक्ष प्रचण्डले बुधबार खुमलटार निवासमा पदाधिकारीसँग छलफल गरेका छन् । पार्टीले उमेरहदका विषयमा निर्णय लिएर नेतृत्व चयनको प्रक्रिया सुरु गर्नसक्ने बताइएको छ । आजको राजधानी दैनिकबाट