काठमाडौँ । सुगम स्थानीय तहका नगरप्रमुखले दरबन्दीबिना नै अन्तरस्थानीय तहमा कर्मचारी सरुवाको सहमति दिन थालेपछि दुर्गम गाउँपालिकामा कर्मचारी रित्तिने र सुगम नगरपालिकामा कर्मचारी थुप्रिने क्रम तीव्र बन्दै गएको छ ।
प्रदेश सरकारले निर्माण गरेको स्थानीय सेवाको गठन तथा सञ्चालनसम्बन्धी ऐनको व्यवस्थाबमोजिम कर्मचारी सरुवा गर्न थालेपछि दुर्गम गाउँपालिकामा कर्मचारी रित्तिने र सहरी क्षेत्रका नगरपालिकामा थुप्रिने क्रम तीव्र बन्दै गएको हो । अहिले दुर्गम गाउँपालिकामा कर्मचारी अभावले सेवा प्रवाहमा चरम समस्या हुन थालेको छ भने सुगमका क्षेत्रका नगरपालिकामा दरन्बदीभन्दा बढी कर्मचारी भएर ओभर स्टाफिङको समस्या भएको छ ।
ताप्लेजुङको पाथीभरायाङवाराक गाउँपालिका अध्यक्ष केशवकुमार सुब्बाले सुगम ठाउँका नगरपालिकाबाट सरुवाको सहमतिपत्र बनाएर ल्याएपछि अनेकौँ बहना बनाएर कर्मचारी सरुवा भएर जाने गरेको गुनासो गर्नुभयो ।
सुब्बाले भन्नुभयो, “अहिले गाउँपालिकामा छ वडामध्ये तीन वटा वडा वडासचिवविहीन छन्, गाउँपालिकाको कार्यालयमा पनि यस्तै समस्या छ, स्थानीय सेवाको गठन तथा सञ्चालनसम्बन्धी ऐनले सुगम पालिकामा कर्मचारी भरिने र दुर्गमका पालिकामा रित्तिने अवस्था बनाएको छ ।”
कतिपय वडामा त कार्यालय सहयोगी र शिक्षकले वडा कार्यालय धान्नुपर्ने अवस्था रहेको गुनासो गर्दै सुब्बाले यसरी दोहोरो सहमतिमा कर्मचारी सरुवा भई जान पाउने व्यवस्था कायम भइरहे सधैँ दुर्गम क्षेत्रका गाउँपालिकामा कर्मचारीको अभाव भइरहने बताउनुभयो ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले दोहोरो सहमतिका आधारमा कर्मचारी सरुवा हुन पाउने व्यवस्थाले गाउँपालिकामा कर्मचारी अभाव हुने र नगरपालिकामा कर्मचारी दरबन्दीभन्दा बढी हुने गरेको बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट