काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा झापाको बिर्तामोडस्थित नेपाल चिया विकास निगम लिमिटेडका तत्कालीन वरिष्ठ लेखापाल सञ्जय बिलोटिया र लेखापाल मनिषकुमार कर्णलाई दोषी ठहर गरेको छ ।
आइतबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै तीन महिना कैद सजाय र जनही १६ लाख २६ हजार रुपैयाँ जरिवाना सुनाएको हो ।
अदालतले तत्कालीन अफिस कर्ल्क राजु भन्ने गुणराज श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरण, भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल बेदबहादुर रानालाई सफाइ दिएको छ ।
नेपाल चिया विकास निगम लिमिटेड, बिर्तामोड, झापामा कार्यरत कर्मचारीले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकमको बिल प्राधिकरणबाट ल्याई रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।
विद्युत् महसुल भुक्तानी गर्ने क्रममा भ्रष्टाचार भएको खुलेपछि अख्तियारले २०८१ वैशाख २८ गते बिलोटिया, कर्ण, श्रेष्ठ र रानाविरुद्ध विशेष अदालमा मुद्दा दायर गरेको थियो ।