सोलुको कांग्रेसमा लागेको धमिरा मार्न औषधि छर्किनुको विकल्प छैनः पूर्वमन्त्री बलबहादुर केसी

19.4k Shares

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले सोलुको नेपाली कांग्रेसमा धमिरा लागेकाले औषधी छर्केर मार्नुको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस खुम्बुपासाङल्हामु गाउँपालिका सोलुखुम्बु काठमाडौं सम्पर्क समितिद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा  बोल्दै देशैभरि नेपाली कांग्रेसमा धमिरा लागेको भएतापनि सोलुमा त झनै धेरै धमिरा लागेकाले औषधि छर्किनुको विकल्प नरहेको बताएका हुन् ।

‘सोलु जिल्ला कांग्रेसको किल्ला हामीले निर्माण गरेका थियौं । तर, धमिरा पस्यो । त्यो धमिराले त सालको काठलाई पनि खादो रहेछ ।’ पूर्वमन्त्री केसीले भने, ‘हामीसँग १४ हजारभन्दा बढि मत हुँदाहुँदै पनि चुनाव हारियो । यदि ती पार्टिभित्रका धमिराहरु नभएको भए हामीले सजिलै चुनाव जित्ने थियौं ।’

‘देशभरिनै कांग्रेसमा धमिरा लागेको छ । ती धमिरालाई नमारेसम्म कांग्रेस लयमा हिड्न गाह्रो छ ।’ केसीले भने, ‘कांग्रेसमा लागेको धमिरा औषधि छर्केर मार्नुपर्छ । त्यसको शुरूवात सोलुबाट गर्नुपर्छ । तपाईहरु ढुक्क भएर पार्टि निर्माणमा लाग्नुस अब के गर्नुपर्छ म योजनासहित सोलुखुम्बुका सबै क्षेत्रमा पुगेर कांग्रेसका लागि जीवनभर सहयोग गरिरहनेहरुसँग सल्लाह गरेर अगाडि बढ्छु ।’

‘अब कांग्रेस बचाउनको लागि हामीले बैंकमा एउटा खाता खोल्दैछौ दँशैपछि । तपाईंहरुले १ सयमात्रै त्यो खातामा लगाउनुस । यस्तो किन गरेको भनेर भन्नुहोला । यो हाम्रो अबको निर्वाचनको लागि एउटा महाअभियान हो ।’ उनले भने, ‘भनेको कांग्रेस बचाउ अभियान शुरू गर्नुको लागि यस्तो कदम चालिएको हो ।’

नेपालको ऐतिहासिक जिल्ला गोर्खा र विश्वको सर्वोच्च शिखर सगरमाथा भएको जिल्ला सोलुखुम्बुका व्यवसायिक पर्यटनकर्मीहरु मिलेर टानको सिण्डिकेट तोडिएको केसीले बताए । ‘अर्को पटकको टान निर्वाचनपछि चोलेन्द्रजीलाई यसैगरी खादा र माला लगाउदै बधाई दिन पाउ ।’ उनले भने ।

नेपाली कांग्रेसका प्रतिनिधी सभा सदस्य राजेन्द्र बजगाईले पर्यटन क्षेत्रमै आफ्नो रोजिरोटी भएकाले लामो समयदेखि जेलिएको टानको सिन्डकेट यस पटकबाट तोडिएको बताए । ‘मेरो रोजिरोटि पर्यटन क्षेत्र नै हो । त्यसैले लोमो समयदेखि झाँगिदै आएको एकल सिन्डिकेट यसपालिबाट सदाका लागि तोडिएको छ । कालापथत्थरमा जलवायु परिवर्तनको असरबारे क्याविनेट बैठक राख्न पर्यटन संस्थाको तर्फबाट सबैभन्दा पहिले एजेण्डा इन्डोर्स गरेको बजगाईले बताए ।

पछिल्लो समय सोलुको राजनीतिमा जातिय राजनीति हावि भएको भन्दै बजगाईले अहिलेसम्म कहिल्यै कांग्रेस नहारेको सोलुमा कांग्रेसले नै चुनाव हराएकोप्रति चिन्ता व्यक्त गरे ।

नेपाली कांग्रेस सोलुखुम्बुका नेता तथा महाधिवेशन प्रतिनिधि प्रकाशसिं कार्कीले टान निर्वाचनमा धेरै प्रयास गरेर मात्रै एकल सिन्टिकेट तोड्न सफल भएको बताए । ‘पर्यटक श्रमिकहरुको दुःखसुख हेर्ने संस्थानै यस्तो जञ्जालमा फसेपछि विदेशी पर्यटकहरुमा नेपालको पर्यटक श्रमिकप्रति जाने दृष्टिकोणले पर्यटन क्षेत्रमा असर पार्छ,’ नेता कार्कीले भने, ‘पर्यटन क्षेत्रको महत्व र श्रमिकको श्रम बुझ्न नसक्ने नेतृत्व टानमा पुगेपछि पर्यटक भरियाले विदेशीलाई राम्रो व्यवहार गर्न सक्दैनन् । राम्रो व्यवहार नपाएपछि विदेशीहरुप्रति नकारात्म सन्देश जान्छ ।’

पर्यटकीय क्षेत्र थामे गाउँमा गत साउन ३२ गते आएको बाढिले पुर्याएको क्षेति तत्काल पुनः निर्माणमा लाग्न समेत कार्कीले सरोकारवालासँग आग्रह गरे । थामे गाउँमा भत्किएका घर, होटल, लज र विद्यालय तत्काल पुनः निर्माण गरिदिनु पर्ने कार्कीको भनाई छ ।

कांग्रेसका महाधिवेशन प्रतिनिधी तथा सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले टानको नयाँ नेतृत्व सिण्डिकेट तोड्न सफल भएकोमा बधाई दिदै नेपालको पर्यटन क्षेत्रमा अब परिवर्तन हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सोलुखुम्बुबाट काठमाडौं आइ बसोबास गरेका सोलुखुम्बेलीहरुको उलेख्य उपस्थिति रहेको थियो ।

भर्खरै सम्पन्न टानको चुनावमा सोलुखुम्बु जिल्लाबाट निर्वाचित ६ जनालाई सम्मान गरिएको छ । नेपाली कांग्रेस खुम्बुपासाङल्हामु गाउँपालिका सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको हो ।

नव निर्वाचित टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, प्रथम उपाध्यक्ष सनम शेर्पा, महासचिव सोनामग्याल्जेन शेर्पा र सचिव रिञ्जी शेर्पालाई सम्मान गरिएको छ । त्यसैगरी सदस्यहरुमा छाप्ते लामा र सागर राई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो । सम्मान नेपाली कांग्रेसका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य बलबहादुर केसी, प्रतिनिधी सभाका सदस्य राजेन्द्र बजगाई, महाधिवेशन प्रतिनिधी प्रकाशसिंह कार्कीलगायतले सोलुखुम्बुबाट नवनिर्वाचित टानका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार