काठमाडौं– गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनासम्बन्धि छानबिन गर्न गठित समितिले आज प्रतिवेदन बुझाएको छ।
९ एन-एएमईरसीआरजे २०० कलसाइन भएको जहाज धावनमार्ग नजिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। पाइलट मनीष शाक्य बाँचेका थिए।
जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। यो समितिलाई ४५ दिनभित्र जहाज दुर्घटना छानबिन गरी प्रतिवेदन दिन भनिएको थियो।
समितिले प्रारम्भिक प्रतिवेदन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई बुझाएको छ। प्रारम्भिक प्रतिवेदनमा उडानका बेला पालना गर्नुपर्ने मापदण्ड पूर्ण रूपमा पालना गरेको नदेखिएको कुरा उल्लेख छ।
सौर्यको जहाज मर्मतका लागि पोखरा उडेको थियो। व्यावसायिक उडान नभएकोले तौल नलिई जहाजमा सामान लोड गर्दा असन्तुलन भएको हुन सक्ने तर्फ पनि आशंका गर्दै समितिले त्यसतर्फ अध्ययनलाई केन्द्रित गरेको उल्लेख गरेको छ।