काठमाडौं– आधा दर्जनभन्दा बढी धेरै सहकारी संस्थाको बचत रकम दुरुपयोग आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) करिब एक वर्षदेखि फरार छन् ।
दुई वर्षअघिसम्म रवि लामछिानेका साझेदार उनी अहिले मलेसियामा लुकेर बसेको सूचना सरकारसँग पनि छ । तर उनी पक्राउ पर्न सकेका छैनन् ।
वर्तमान सरकारका गृहमन्त्री रमेश लेखकले केही समयअगाडि जीबीलाई समात्न नेपाल प्रहरीले आफ्नो ढंगले काम गरिरहेको बताएका थिए । तर, अहिलेसम्म सरकारले जीबीलाई खोज्ने प्रक्रिया नथालेको प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आरोप छ । तर रास्वपाकै सभापति लामिछाने गृहमन्त्री हुँदा पनि जीबीलाई ल्याउने ठोस पहल गर्न सकेनन् ।
यता सहकारीको समस्या अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले पनि राई मलेसियामै भएको सूचना सरकारलाई दिइसकेको छ । तर, पनि सरकारले प्राविधिक कारण भन्दै राईलाई पक्राउको पहल गर्न सकेको छैन । समिति सभापति सूर्य थापाले यसअघि नै राई मलेसियामा भएको जानकारी पाएको बताएका थिए ।