काठमाडौं । डेनमार्कको लागि नेपाली राजदूतमा सिफारिस सुम्निमा तुलाधरलाई संसदीय सुनवाई समितिका धेरै सदस्यले एउटै प्रश्न गरे– ‘के तपाईं कुनै एनजीओको कार्यकारी पदमा हुनुहुन्छ ?’
सरकारले गत साउन १४ गते तुलाधरलाई डेनमार्कको लागि नेपाली राजदूतमा सिफारिस गरेपछि समितिले सुनुवाइको लागि आइतबार बोलाइएको थियो ।
समितिको आइतबारको बैठकमा सदस्य डोलप्रसाद अर्यालले प्रश्न गरे, “के तपाईँ एनजीओ (गैर सरकारी संस्था) कर्मी हो ? परिचय दिँदा आफूलाई एनजीओकर्मी भनेर सुरु गर्नुभयो ?”
सरकारले राजदूतमा सिफारिस गर्नुअघि तुलाधार गैरसरकारी संस्था सिविन–नेपालको कार्यकारी संयोजक थिइन् । उनी जुन गैर–सरकारी संस्थामा कार्यरत थिइन् उक्त संस्थाले विदेशी सहायता लिँदै आएको थियो ।
राजदूत नियुक्तिसम्बन्धि निर्देशिका, २०७५ को दफा ३ मा ‘नियुक्ति हुँदाका बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको’ व्यक्ति राजदूत पदको नियुक्तिको लागि योग्य हुने उल्लेख गरिएको छ । यसैकारण सुनुवाइको बेला अधिकांश सदस्यले उनको एनजीओसँगको आवद्धतालाई लिएर प्रश्न उठाएका थिए ।