जेलेन्स्कीको दाबी – अब युक्रेनको आफ्नै ब्यालेस्टिक मिसाइल

15.1k Shares

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनी सेनाले हालै घरेलुस्तरमा निर्मित ब्यालेस्टिक मिसाइलको पहिलो सफल परीक्षण गरेको बताएका छन्‌ । किएभमा मङ्गलबार उनले यस्तो दाबी गरेका हुन्‌ ।

लगातार दुई रात युक्रेनभर व्यापक मात्रामा रूसी बमबारीबीच युक्रेनले अत्यधिक घातक र अत्याधुनिक ब्यालेस्टिक मिसाइल आफैँले बनाएको जनाएको पश्चिमा मिडियाहरूमा उल्लेख छ । रूसको पछिल्लो आक्रमणमा युक्रेनका निकै धेरै मानिसहरूको मृत्यु भएको छ भने र ऊर्जा पूर्वाधारमा पनि क्षति पुगेको छ ।

किएभमा पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘पहिलो युक्रेनी ब्यालेस्टिक मिसाइलको सकारात्मक परीक्षण भएको छ, म यसमा हाम्रा रक्षा उद्योगलाई बधाई दिन्छु, म यो मिसाइलका बारेमा थप जानकारी साझा गर्न सक्तिनँ ।’

पश्चिमी सैन्य सहायतामाथिको निर्भरतालाई कम गर्ने प्रयासमा युक्रेनले आफैँ हतियार उद्योगको विकास गर्न र आफ्नो क्षेत्रमा सैन्य उत्पादनलाई प्रोत्साहित गर्ने प्रयास गरिरहेको छ ।

जेलेन्स्कीले गत साता युक्रेनी सेनाले पहिलोपटक युद्धमा युक्रेनमा बनेको पलियानित्सिया नामको लामो दूरीको ‘रकेट ड्रोन’ तैनाथ गरेको बताएका थिए । किएभले साना हतियार र गोलाबारुदको उत्पादनमा पश्चिमी हतियार कम्पनीहरूसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्बन्धित समाचार