साफ यू–२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूहविजेता

14.7k Shares

काठमाडौं– घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता बनेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको समूहचरणको अन्तिम खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्‍यो। नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको थियो।

बंगलादेशले पनि श्रीलंकालाई २–० ले पराजित गर्‍यो। नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए। लगातार दोस्रो जितसहित नेपाल ६ अंक जोड्दै समूह विजेता बन्यो।

तीन अंक जोडेको बंगलादेश समूह उपविजेता बन्यो। श्रीलंका भने अंकविहीन रह्यो। नेपालले फाइनल प्रवेशका लागि अर्को समूहको उपविजेतासँग खेल्ने छ। समूह ‘बी’ मा एक खेल खेल्न बाँकी रहेको भारत तीन अंकसहित शीर्ष स्थानमा छ। दुवै खेल खेलिसकेको भुटानको पनि तीन अंक रहेको छ। शुक्रबार हुने  समूह ‘बी’को अन्तिम खेलबाट नेपाल र बंगलादेशको प्रतिद्वन्दी तय हुनेछ।

नेपालको जितमा समीर तामाङ र निराजन धामीले गोल गरे। बंगलादेशका मिराजुल इस्लामले फर्काएको गोल सान्त्वना रह्यो। १७औं मिनेटमै नेपालले सुरुआती अग्रता लियो। नेपालका कप्तान कुशल देउवाले पेनाल्टी बक्सबाट क्लियर गरेको बललाई बंगलादेशका गोलकिपरले मिडफिल्ड एरियामा आएर क्लियर गर्ने प्रयास गरेका थिए। तर, उनले बेलैमा क्लियर गर्न नसक्दा समीरले खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल गरे। जारी प्रतियोगितामा उनको यो पहिलो गोल हो। 

सम्बन्धित समाचार