काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । देउवालाई प्रधानमन्त्री बनाउन र केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउनमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको ठूलो भूमिका छ । नेता नेपालको चट्टानी अडानकै कारण देउवाको प्रधानमन्त्रीमा सत्तारोहण सफल भएको हो ।
अदालतको फैसला आएको अघिल्लो दिन अर्थात असार २८ गते राति १० बजे एमाले कार्यदलले पार्टीको विवाद समाधानको लागि १० बुँदे सहमति गरेको छ । जसमा माधव नेपाल पक्षको सहमति नभएको कुरा मिडियामा आएको थियो । सुरुमा नेता नेपालले अदालतको फैसलालाई प्रभावित पार्ने भाषा राखिएको भन्दै आपत्ति जनाएको कुरा पनि बाहिर आएको छ । अदालतको फैसला नेता नेपाललगायत विपक्षी गठबन्धनले माग गरेबमोजिम नै आयो ।
फैसलालाई नेता नेपालले स्वागत गरे । र, यसले संविधानको जित भएको प्रतिक्रिया दिएका थिए । साँझमा नेता नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकलाई संक्षिप्त सम्बोधन गर्दै नेता नेपालले आजबाट आफूहरु गठबन्धनमा रहन नसक्ने बताएका थिए । पार्टीभित्र एकताको वातावरण बनेको र एउटा सहमति भएको अवस्था सुनाउँदै परिस्थितिलाई सही ढंगले बुझिदिन उनले प्रधानमन्त्रीमा नियुक्त देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसामू आग्रह गरेका थिए । नेता नेपालको सोही भनाई उनीनिकट नेता रघुजी पन्तले मिडियासामू सुनाएका थिए ।
प्रधानमन्त्रीमा नियुक्त देउवाले अब एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । यसअघि समर्थन गरेका माधव नेपाल पक्षधर २३ जना सांसदले समर्थन नगरे उनले विश्वासको मत नपाउने निश्चित् छ । कतिपयले एमाले एक भएको खण्डमा देउवा एक महिनाभन्दा बढि प्रधानमन्त्री नबन्ने दाबी गरिरहेका छन् । तर, माधव नेपालले भने देउवालाई विश्वासको मत दिनेबारे छलफल थालेको उच्च स्रोतको दाबी छ ।
आफूहरुकै कारण ओलीको बहिर्गमन भएको र देउवा प्रधानमन्त्रीमा नियुक्त भएकोले देउवालाई विश्वासको मत दिँदासम्म सहकार्य जारी राख्नुपर्ने आवाज उनीनिकट सांसदहरुबाट उठेको छ । सांसदहरुको यही भावनालाई आत्मसात् गरेर नेपाल पक्षका सबै सांसदले देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् । नेता नेपालले विश्वासको मत दिने वचन प्रधानमन्त्रीमा नियुक्त देउवालाई दिईसकेको स्रोतको दाबी छ । देउवाले त हिजै माधव नेपाल पक्षलाई आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर, नेपालले सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका थिए । राजनीतिक परिस्थिति कसरी अघि बढ्छ त्यही अनुसार आफू पनि अघि बढ्ने भन्दै पछि त्यस्तै अवस्था सरकारमा पनि सहभागी हुन सकिने उनको भनाई थियो ।