काठमाडौं । उच्च अदालत विराटनगर, इलाम इजलासको परिसरभित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टि भएको छ ।
जिल्ला अदालत इलामकै कर्मचारी ४८ वर्षीया विमलादेवी निरौला पराजुली सोमबार बिहान करिब ७ बजेतिर अदालत परिसरमा मृत फेला परेकी थिइन् ।
सोलुखुम्बुको सल्यान गाउँपालिका घर भएकी निरौला मृत भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
उनी मृत अवस्थामा रहेको भन्ने सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठसहितको प्रहरी टोलीले घटनाको बारेमा सुरुआती अनुसन्धान गरेको थियो ।
अनुसन्धानका लागि संघीय प्रहरी एकाइ धरानबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली झिकाइ अनुसन्धान गरिएको थियो ।
सो क्रममा सोही कार्यालयमा सुरक्षा गार्डका रुपमा कार्यरत ३५ वर्षीय युवराज बानियाको संग्लग्नता रहेको देखिएसँगै बानियालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका बानियाले उक्त घटनामा आफ्नो संग्लग्नता रहेको स्वीकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।