काठमाडौँ - गत बिहीबार अर्थात् १५ अगस्ट २०२४ मा भारतले आफ्नो ७८औं स्वतन्त्रता दिवस मनायो । राजधानी दिल्लीको लालकिल्लासहित मुलुकभर झन्डोतोलन गरियो । काठमाडाैंसहित विदेशस्थित भारतीय नियोगहरूमा पनि त्यस्तै आयोजना गरियो । १५ अगस्ट १९४७ को मध्यरात भारतले अंग्रेज साम्राज्यको दासताबाट मुक्ति पाएको थियो । त्यसपछि प्रत्येक वर्ष लालकिल्लालगायत सबै ठाउँमा झन्डोतोलनको परम्परा रहिआएको छ । यस वर्षको मुख्य समारोह पनि नयाँदिल्लीको लालकिल्लामा आयोजना गरिएको हो । मुलुकका कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले ११औंपटक भारतको राष्ट्रिय ध्वजा फहराए र डेढ घण्टाभन्दा बढी लामो सम्बोधन गरे । सो अवसरमा छिमेकी राष्ट्र बंगलादेशमा देखिएको अशान्तितर्फ पनि उनले संकेत गरे र अल्पसंख्यक हिन्दूहरूको असुरक्षाप्रति चिन्ता व्यक्त गरे । मोदीले बंगलादेशका बिषयमा उल्लेख गरेपछि मलाई अनायासै भारतका सबैजसो छिमेकीहरूसँगको असहज सम्बन्धका ’boutमा थोरै खोतल्न इच्छा जाग्यो ।
आज भारतको कुनै पनि छिमेकीसँग सहज सम्बन्ध छैन भन्दा अत्युक्ति नहोला । ठूलो राष्ट्र चीनसँगको सम्बन्ध त विवादित नै छ र त्यो बुझ्न सकिने कुरा हो । सन् १९६२ को भारत–चीन युद्धपछि जेलिएको दुई राष्ट्रबीचको सम्बन्ध सतहमा शान्त देखिए पनि सहज र सरल पटक्कै छैन । अर्को छिमेकी पाकिस्तानसँग त लगभग शत्रुतापूर्ण सम्बन्ध नै छ । सन् १९४७ को भारत विभाजनको पीडा र त्यसले जन्माएको द्वेषको पृष्ठभूमि र सन् १९७१ को युद्धले पाकिस्तानको विभाजन र त्यसले पैदा गरेको घृणाले गर्दा भारत र पाकिस्तान सदाबहार दुस्मन बनेका छन् । अचम्मचाहिँ यी दुई छिमेकीबाहेक भारतको बिषय रहेका सबैजसो साना छिमेकी राष्ट्रहरूमा पनि प्रचूर मात्रामा भारतविरोधी भावना विद्यमान छ । बंगलादेशको जन्मको मूल कारक राष्ट्र भएर पनि भारतप्रति बंगलादेशमा अत्यधिक रोष देखिन्छ । त्यही अवस्था श्रीलंका र माल्दिभ्समा पनि छ । म्यान्मारभित्र पनि भारतप्रति धेरै राम्रो धारणा रहेको पाइन्न । भारतसँग पुरै निर्भर राष्ट्र भुटानका जनताबीच समेत भारतको छवि राम्रो छैन ।
अब आउँ नेपाल–भारत सम्बन्धका बिषयमा । औपचारिक र आधिकारिक तहमा नेपाल र भारतबीच सुमधुर र सौहार्दपूर्ण सम्बन्ध रहेको बताइन्छ । तर, अधिकांश नेपालीहरू र त्यसमा पनि विशेषतः पहाडी मूलका बासिन्दाबीच भारतविरोधी भावना भरिएको पाइन्छ । मधेसी जनताहरूको नातागोता सम्बन्ध इत्यादिका कारण भारतीयहरूसँग अन्तरंग सम्बन्ध हुँदाहुँदै पनि भारत राष्ट्रप्रति धेरै सकारात्मक धारणा छैन भन्दा गलतचाहिँ हुन्न । किन यस्तो भयो ? जवाफ सरल छैन । आजको राजधानी दैनिकमा सरोज मिश्रको लेखमा आधारित