गट्ठाघर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सनाखत

12.7k Shares

काठमाडौं । भक्तपुर गट्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्ति ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका ६५ वर्षीय उत्तम कोइराला भएको पुष्टि भएको छ ।

भक्तपुर प्रहरी परिसरका डीएसपी राजन कार्कीका अनुसार आज शुक्रबार बिहान मात्र मृतकको सनाखत भएको हो । ६५ वर्षीय कोइराला काठमाडौंको कपन बस्दै आएका थिए ।

उनी सवार बा४९प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना६ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । शरीरका अधिकांश अंग क्षतविक्षत भएकाले उनको सनाखतमा ढिलाइ भएको थियो ।

मृतकको साथमा उत्तम कोइराला, ओखलढुंगा रातमाटे–५ लेखिएको सवारीचालक अनुमतिपत्र फेला परेको थियो । तर, मृतक कोइराला नै हुन् भन्ने पुष्टि गर्न पनि प्रहरीलाई लामो समय लागेको थियो । कतिपयले अर्काको लाइसेन्स बोकेर सवारीसाधन चलाउने भएकाले पनि मृतक कोइराला नै हुन् वा होइनन् भनेर यकिन गर्न प्रहरीले केही समय लिएको थियो ।

शुक्रबार बिहान आफन्त आएर सनाखत गरेपछि मृतक कोइराला नै भएको पुष्टि भएको हो । यद्यपि, बिहीबार साँझ नै सवारीचालक अनुमतिपत्र सार्वजनिक भएकाले उनै कोइरालाको निधन भएको आफन्तमाझ चर्चा चलेको थियो ।

त्यसो त, दोलखाको मेलुङ गाउँपालिका–४ का करिब ३० वर्षीय शम्भु नेपालीले दुर्घटनाको केही समयपछि नाम नै किटेर मृतक आफ्नी बहिनी भएको बताएपछि दुर्घटनामा मृत्यु भएका व्यक्ति महिला भएको भनेर प्रचार भएको थियो । तर, मृतक भनिएकी महिला नै आफ्नो परिचयपत्रसहित प्रहरीसमक्ष पुगेपछि नेपालीले झुट बोलेको पुष्टि भएको थियो । ‘उनले मृतकलाई आफ्नी बहिनी भनेर विवरण टिपाएका थिए, तर त्यो होइन रहेछ,’ जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी कार्कीले भने ।

मृतक भनिएकी महिला नै प्रहरीसमक्ष पुगेपछि प्रहरीले शम्भु नेपालीलाई पक्राउ गरी ठिमी प्रहरीको हिरासतमा राखेको छ । उनले मृतकलाई किन आफ्नी बहिनी भने भन्ने पनि खुलेको छैन ।

उनले यसअघि पनि पटकपटक आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत हल्ला फैलाउने गरेको पाइएको कार्कीले बताए । ‘उनले किन त्यसो भनिरहेका छन्, अहिले केही भन्नसक्ने अवस्था छैन, हामी थप अनुसन्धानकै क्रममा छौं,’ कार्कीले भने ।

त्यसो त ज्यान गुमाउने स्कुटर चालक महिला हो कि पुरुष भनेर छुट्याउन नै प्रहरीलाई झन्डै ५ घण्टा लागेको थियो । बिहीबार दिउँसो १ बजेर ४० मिनेट जाँदा भएको सो घटनामा मृतक महिला भएको विवरण प्रहरीले सार्वजनिक गरेको थियो । तर, साँझ ६ बजेपछि मात्रै दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको निष्कर्षमा प्रहरी पुगेको थियो ।

यस विषयमा डीएसपी कार्कीले भने, ‘शव क्षतविक्षत अवस्थामा थियो, चिन्नसक्ने अवस्थामा थिएन, त्यहीबेला एक जना व्यक्ति आएर मृतक आफ्नी बहिनी भएको बताएपछि हामीले मृतक महिला भएको विवरण सार्वजनिक गरेका थियौं ।’ मृतकको एउटा खुट्टाबाहेक शरीरको कुनै पनि भाग सग्लो नहुँदा पनि सनाखतमा समस्या भएको उनको भनाइ थियो । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार