काठमाडौं । लामखुट्टे पहिला समथर भूभागमा पाइन्थ्यो । अर्थात् तराईका भूभागमा मात्रै लामखट्टेको बास हुन्थ्यो । गर्मी जता हुन्थ्यो, लामखुट्टेको बासस्थान पनि त्यतै हुन्थ्यो । तर, आजभोलि लामखुट्टेको बासस्थान तराईबाट पहाड हुँदै हिमालसम्म पुगेको छ । अर्थात्, गर्मी बढेसँगै लामखुट्टेको यात्रा पनि उच्च भेगमा देखिन थालेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा डेंगु गराउने लामखुट्टे पहाडमा मात्रै नभई हिमालमा पनि देखिन थालेका छन् ।
यस वर्ष मात्रै हिमाली जिल्ला सोलुखुम्बुमा ३० जनाभन्दा बढी डेंगुबाट संक्रमित भइसकेका छन् । सोलुखुम्बुमा पछिल्ला २ वर्षअघिदेखि डेंगुका बिरामी देखिन थालेका हुन् । जलवायु परिवर्तनसँगै उच्च भेगतिर गर्मी सर्दैजाँदा लामखुट्टेले पनि आफ्नो थातथलो फैलाउँदै लगेको छ । विज्ञ भन्छन्, ‘यो जलवायु परिवर्तनका कारण देखिएको समस्या हो ।’ एक अनुसन्धानले नै देखाएको छ– संसारका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष २१ फिटमाथि डेंगु गराउने लामखुट्टे सर्दै छन् । लगातारको वर्षाले पानी जम्न थालेसँगै देशभर डेंगुको संक्रमण पनि बढ्दै गएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातायता डेंगु संक्रममितको संख्या तीव्र रूपमा बढ्दै गएको छ । अहिलेसम्म ३ हजार ८४ जनामा डेंगुको संक्रमण देखिएको छ ।
पछिल्ला चार दिनमा मात्रै ७ सय २२ जना डेंगु संक्रमित थपिएको महाशाखाले जनाएको छ । २१ साउनसम्म २ हजार ३ सय ६५ जनामा डेंगु पुष्टि भएको थियो । यो संख्या बढेर २५ साउन साँझसम्म ३ हजार ८४ पुगेको महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले बताए । महाशाखाका अनुसार, देशका ७३ जिल्लामा डेंगुको संक्रमण देखिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा संक्रमण फैलिएको डा. दाहालले बताए ।
सबैभन्दा बढी डेंगु तनहुँमा देखिएको छ । तनहुँमा शनिबारसम्म ५ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि काठमाडौंमा संक्रमितको संख्या बढ्दै गएको देखिएको छ । काठमाडौं उपत्यकामा ३ सय ७ जनामा डेंगुको संक्रमण देखिएको छ । त्यस्तै, कास्कीमा १ सय ६६ र झापामा १ सय ३५ जना डेंगु संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमितको संख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेंगु रोगका बिरामीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । आजको राजधानी दैनिकबाट