काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तिन मिनेटमै एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा विमानस्थलबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको नाइन एन–एजेडी कलसाइन हेलिकोप्टर नुवाकोटको सूर्यचौर गाउँपालिका–७ मा दुर्घटना हुँदा हेलिकोप्टर चालकसहित चार जना चिनियाँ नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा हेलिकोप्टर चालक अरुण मल्ल र चिनियाँ नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झि जेमिङ रहनुभएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार एयर डाइनेस्टीसँग चार वटा हेलिकोप्टर रहेका थिए । विमानस्थलका प्रवक्ता सुवास झाले भन्नुभयो, “हेलिकोप्टर राडारबाट सम्पर्कविहीन भएलगत्तै खोजतलास सुरु गरियो । लगत्तै नेपाली सेनाबाट दुर्घटनामा परेको खबर आएपछि उद्धार तथा खोजतलासको टोली घटनास्थल पुगेको थियो । दुर्घटनास्थलको भौगोलिक अवस्था अनुसार खराब मौसमका कारण दुर्घटना भएकोजस्तो शङ्का गरिए पनि छानबिनपछि कारण खुल्ने छ ।”
शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले दुर्घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको र भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुर्घटनास्थलमा ठुला रुख छैनन् । हेलिकोप्टर कुनै पहाडमा ठोक्किएजस्तो पनि देखिँदैन । दुर्घटनास्थल खोँचजस्तो ठाउँमा भएकाले उडानक्रममा उचाइ लिन नसकेको हो कि भन्ने शङ्का छ ।” नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले मृतक पाँच जनाकै शव सङ्कलन गरेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याएको उहाँले जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकबाट