सुनसरी– सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरले गएको एक वर्षमा लागुऔषधसहित ४२ जनालाई पक्राउ गरेको छ ।
सुनसरीका पहाडी नाका र भारततर्फका नाकामा विशेष निगरानी गरिएकाले लागुऔषधसहित कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्नेक्रम बढेको सशस्त्र प्रहरी बल नम्बर ४ हेडक्वार्टरका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले बताए ।
गत आर्थिक वर्षमा गाँजामात्र एक हजार एक सय तीन केजी नियन्त्रणमा लिएको थियो । त्यस्तै ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोल २३ हजार सात सय एक थान, स्मास्पो प्रोभेक्सिभोन छ सय ९९ थान, नाइट्राजेपाम एक सय ८२ थान, डाइजिपाम २६ थान, बुप्रेनफिन २७ थान, लुपी/टिटी जेसिक ४० थान र डाइकोलिक दुई सय थान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त अवधिमा लागुऔषध ओसारपसारमा प्रयोग भएका दुईवटा एम्बुलेन्स, १२ वटा मोटरसाइकल र एउटा अटो पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।