काठमाडौं । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले विद्यार्थीहरूले गरेको आरक्षणविरोधी आन्दोलनका कारण राजीनामा दिएर देशबाटै भागेकी छन् । गत महिनाबाट सुरु भएको आरक्षणविरोधी आन्दोलनले हसिनालाई राजीनामा दिन बाध्य बनायो । राजीनामा दिनुअघि हसिनाले भिडियो सन्देश दिन खोजे पनि त्यो सम्भव नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।
संयोग के छ भने विद्यार्थी राजनीतिबाट सत्ताको शासनमा पुगेकी हसिनालाई विद्यार्थी आन्दोलनले सत्ताच्यूत गरिदिएको छ । कुनै बेला आमा, बाबु र तीन भाइको हत्यापछि भारतमा निर्वासित भएकी शेख हसिना १७ मे १९८१ मा राजधानी फर्किंदा हजारौं मानिसले विमानस्थलमा स्वागतमा हर्षका आँसु झारेका थिए । अहिले विद्यार्थी आन्दोलनको बलमा देशबाट लखेटिँदा खुसीले हर्षोल्लास मनाएका छन् ।
विद्यार्थी आन्दोलनबाट स्थापित हसिनाले राजनीतिका चार दशक लोकतन्त्रका लागि लडेकी भनिए पनि पछिल्लो समय लोकतन्त्र मास्न उद्दत भएको आलोचना खेपेकी थिइन् । उनी जुन धरातलबाट सत्ताको सिंहासनमा पुगेकी थिइन्, तिनै विद्यार्थीले आफ्नो अधिकारका लागि आन्दोलन गर्दा दबाउन खोज्दा आफ्नो देश नै छाडेर भाग्नुपर्ने स्थिति बन्यो ।
विश्वविद्यालय र कलेजका विद्यार्थीको प्रदर्शन देशभर व्यापक असन्तुष्टि, रक्तपात र आतंकित अवस्थामा पुगेको छ । बंगलादेशको सरकारले आन्दोलनलाई रोक्ने प्रयास गरे पनि प्रदर्शनकारीहरू पछाडि हटेनन् । अन्त्यमा यसै कारण राजीनामा दिएर शेख हसिनाले देश नै छोड्नुपरेको छ । शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएर परिवारका साथ देश छोडिन् । त्यसपछि ठूलो संख्यामा प्रदर्शनकारीले उनको सरकारी निवासमा आक्रमण गरेका छन् र लुटपाट मच्चाएका छन् । आजको राजधानी दैनिकबाट