गाजा । गएको बुधबार पाँच इजरायलीको शव बरामद गरेसँगै इजरायलको सेनाले शनिबार दक्षिणी गाजाको खान युनिस सहरका बासिन्दालाई उक्त स्थान खाली गर्न आदेश जारी गरेको छ ।
इजरायली सेनाले गएको सोमबारदेखि यो क्षेत्रमा कारबाही सुरु गरेदेखि लडाइँका कारण एक लाख ८० हजारभन्दा बढी प्यालेस्टाइनी विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।
प्यालेस्टाइनी क्षेत्रमा बिग्रँदो स्वास्थ्य र सरसफाइको अवस्था रिपोर्ट गर्दै राष्ट्रसंघले बढ्दो द्वन्द्व र बारम्बारको निकासीले सहायता कार्यलाई अस्थिर बनाएको उल्लेख गरेको छ ।
सोमबार खान युनिसमा इजरायली कारबाहीमा ७० जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी मानिस घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुरुआती समयमा तीव्र लडाइँ भएको त्यस क्षेत्रबाट इजरायलतर्फ रकेट फायर रोक्ने कार्य गर्ने जनाउँदै सेनाले निकासी आदेश दिएको हो । खान युनिसका बासिन्दालाई अल–मवासीको समायोजित मानवीय क्षेत्र खाली गर्न इजरायली सेनाले दिएको यो दोस्रो आदेश हो ।