एक वर्षमा एक हजार ३४६ को मृत्यु

15.5k Shares

काठमाडौँ । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३४६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा आफ्नो आफन्त गुुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन् । 

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्यु कुण्डमा होमिन पुगेका छन् । तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेमध्येबाट दैनिक औसतमा चार वटा शव काठको बन्द बाकसमा विदेशबाट आउने गरेको छ ।  

 बोर्डका अनुसार गत आवमा साउदी अरबबाट ३४९, मलेसियाबाट ३४५, कतारबाट २४० र संयुक्त अरब इमिरेटस (युएई) बाट २३३ जना नेपालीको शव नेपाल ल्याइएको छ । यस्तै सो अवधिमा दक्षिण कोरियाबाट २८, कुवेतबाट ७२, इजरायलबाट १९, बहाइनबाट १७, रोमानियाबाट १२, जापानबाट १६ शव नेपाल आइपुुगेको छ । क्राेएसिया १०, साइप्रस दुई, इजरायल दुई, उज्बेकिस्तान दुई र जोर्डन तीन र इजिप्ट, हङकङ, काजकस्थान र युकेबाट एक÷एक शव आएको बोर्डले जनाएको छ । 

आव २०७९-८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । विभागका अनुसार गत आव २०८०-८१ मा श्रम स्वीकृति लिई सात लाख ४३ हजार ५९५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । 

बोर्डका अनुसार गत आवमा मात्रै वैदेशिक रोजगारीका व्रmममा मृत्यु भएका एक हजार ३४६ मृतकका परिवारमध्ये ८२८ परिवारले सात लाखका दरले आर्थिक सहायता लिइसकेको र बाँकी ४१८ परिवारलाई दिने प्रक्रियामा रहेको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु हुुनेको सङ्ख्या अघिल्लो आवभन्दा गत आवमा बढेको छ । बोर्डका अनुसार आव २०७९-८० मा एक हजार २०८ र आव २०८०-८१ मा एक हजार ३४६ शव नेपाल आएका छन् । जुन अघिल्लो आवभन्दा गत आवमा १३८ ले बढी हो । बोर्डका कार्यकारी निर्देशकका अनुसार आव २०६५-६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ हजार ३४६ जनाको परिवारलाई आर्थिक सहायतास्वरूप चार अर्ब ९५ करोड ३० लाखभन्दा बढी रकम उपलब्ध गराइएको छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार