बाघभैरवमा भत्ता खानेको चलखेल

16.9k Shares

काठमाडौं  । सशस्त्र प्रहरी बलमा राम्रो ठाउँमा पोष्टिङ हुन, भत्ता आउने ठाउँमा जान र चर्चामा आउनका लागि कतिसम्मका कार्यहरू हुन्छन् भन्ने कुरा बारम्बार उजागर भैरहेका छन् । सिपाहीको पेटमा लात मारेर  उनीहरूको राशनको रकमले बेड र म्याट्रेश किनेर आफ्नो पुरस्कार , तक्मा र पोष्टिङ अवधि लम्ब्याउने काम पनि व्यापक हुदै आएको छ । यसरी सिपाहीको लात मारेर खान पल्केका गणपतिहरू नै सशस्त्रमा पछिल्लो समय पुरस्कृत हुदै आएका पनि छन् ।
हुदाहुदै अहिले त तलव राशन बाहेक  अतिरिक्त भत्ता आउने ठाउँमा जानका लागि समेत डिआइजी र एआइजीहरू समेत मातहतका प्रमुखलाई बारम्बार फोन गरेर दबाब दिने गरेको समेत उजागर हुन पुगेको छ । उपत्यका स्थित अमेरिकी , बेलायती लगायतका दुतावास , राजदूतको निवासमा खटिने सशस्त्र प्रहरीलाई ती  कार्यालयले अतिरिक्त भत्ता दिने गरेको छ। अमेरिकी दुतावासमा खटिने सशस्त्र प्रहरीले मासिक सिपाही ,हवल्दारको हकमा ९ हजार , असई ,सईको हकमा १२ हजार र सिनियर अफिसर अर्थात निरीक्षकको हकमा १५ हजार मासिक रकम दिने गर्दछन । यी ठाउँको सुरक्षाको लागि सशस्त्र प्रहरी बलको कान्तिपथ स्थित निर्वाचन आयोगको भवनमा रहेको बाघभैरव गुल्मबाट प्रहरीहरू खटिने गर्दछन । 
भत्ताको लागि  धेरै दबाब आउन थालेपछि एउटा नियम बनाएपनि त्यो कसैका लागि लागू हुने र कसैका लागि लागू नहुने हुदै आएको भेटिएको छ । बाघभैरवका अतिरिक्त चोभार, भक्तपुर गणबाट समेत बाघभैरव गुल्ममा काजमा आएर सोर्सफोर्सका आधारमा भत्ता खान जाने गरेको पनि भेटिएको छ । अन्यत्रबाट सरूवा  भएर बाघभैरव गुल्ममा हाजिर हुनआउने  निरीक्षक  दर्जा मध्ये जो अगाडि हाजिर हुन्छ  त्यसलाई सिनियर मानेर र अन्य गणबाट काजमा आउनेको हकमा पनि पहिले हाजिर हुनेलाई सिनियर मानेर भत्ता पाउने ठाउँमा खटाउने नीति बनेको छ। तर त्यो नीति काजमा आउनेको हकमा भने लागू नभएको  गुल्मका जुनियर अफिसरहरू बताउँछन् । अन्य गणबाट गुल्ममा आउने अनि डिआइजी र एआइजीको सोर्सफोर्स लगाएर  भत्ता आउने ठाउँमा खटिएका छन् । यस्तामा  जुनियर  अफिसर बढी रहेका छन् ।चोभार स्थित गणबाट काजमा आएकाहरू यसरी माथिको सोर्सफोर्सबाट खटिनेहरू बढि रहेको गुल्ममा कार्यरतहरू बताउँछन् ।बाघभैरव गुल्ममा डिएसपी रजनी थापा गुल्मपतिको रूपमा कार्यरत थिइन  ।अहिले दुई दिन अघि मात्रै अमृत न्याैपाने आएका छन् ।

सम्बन्धित समाचार