काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई निर्देशन दिँदै हौस्याउनुमात्रै भएन, जोस्याउँदै सचेतसमेत पार्नुभएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको शुभकामना ग्रहणपछि प्रधानमन्त्री ओलीले केही काम गरेर देखाउन र नयाँ कीर्तिमान कायम गर्न सचिवहरूलाई निर्देशन दिनुभयो।
उहाँले मन्त्रालयमा बसेर सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जनतासमक्ष विकास, सुशासन, सेवा सुविधा पुर्याउने मुख्य काम र दायित्व सचिवहरूकै भएको स्पष्ट पार्नुभयो ।
अधिकांश सचिवहरूलाई सधैं मिटिङमात्रै गर्ने तर उपलब्धिमूलक काम गर्न नसक्ने आरोप लाग्दै आइरहेको छ । छाप छोड्ने र सुकीर्ति फैलने गरी काम गर्ने सचिवहरू औंलामा गन्न सक्ने मात्रै छन् । सो तथ्यलाई राम्ररी बु्झ्नुभएका प्रधानमन्त्री ओलीले सचिवहरूलाई मुलुकमा समृद्धि कायम हुने गरी र जनतामा छाप छोड्ने र आफ्नो सुकीर्ति फैलने गरी काममा खट्न आग्रह गर्नुभयो । उहाँले उच्च मनोबलका साथ दिगो विकास कायम गर्ने र जनतामा आशा जगाउने गरी उच्च मनोबलका साथ कार्यथलोमा खट्न सचिवहरूलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा सहभागी सुरक्षा निकायका प्रमुखहरुलाई पनि उच्च नैतिकताका साथ काम गर्न उहाँले निर्देशन दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार मध्याह्न १२ बजे प्रधामन्त्री केपी शर्मा ओलीलाई सचिवहरू तथा सुरक्षा निकायका प्रमुखहरुले शुभकामना दिने र त्यसलगत्तै प्रधानमन्त्रीले सचिवहरूलाई विशेष निर्देशन दिने गरी कार्यक्रम आयोजना गरेको थियो।
सचिवहरू निर्धारित समयभन्दा केही चाँडै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए । चौथोपटकसम्म प्रधानमन्त्री बनिसक्नुभएका ओलीले यसअघिका यस्तै कार्यक्रममा लामो समयसम्म निर्देशन दिएको स्मरण गरेका सचिवहरूले यसपटक पनि प्रधानमन्त्रीले लामै समयसम्म बोलेर निर्देशन दिने अनुमान गरेका थिए । तर, प्रधानमन्त्री ओलीले बढीमा ४० मिनेटमा आफ्नो निर्देशन मन्तव्य सक्नुभएको थियो ।
‘प्रधानमन्त्रीले निर्देशन दिने भनेपछि झण्डै दुई घण्टाको समय छुट्याएर गएका थियौं, तर उहाँले निकै सटिक निर्देशन दिएर ४० देखि ४५ मिनेटमा कार्यक्रम सक्नुभयो’ –कार्यक्रममा सहभागी एक सचिवले नेपाल समाचारपत्रसँग भने । ती सचिवका अनुसार यसपटक प्रधानमन्त्रीले निर्देशन दिने क्रममा बढी गफ गर्नुभएन, सचिवहरूले के गर्ने र कसरी अघि बढ्ने विषयमा केन्द्रित रहेर सटिक मन्तव्य राख्नुभएको थियो । आजको नेपाल समाचारपत्र दैनिकबाट