काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले कर छली गर्दै बर्सेनि व्यापार बढाउँदै लगेको देखिएको छ । चालू आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा झन्डै १० अर्बको कारोबार गरेको साइमेक्स इंकले कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले फाइल अध्ययन गरिरहेको छ ।
सन् २०२३ मा सो कम्पनीले १ अर्ब ९१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको इक्रा तथ्यांकले देखाएको छ । गत वर्षसँग तुलना गर्दा यस वर्षको ११ महिनासम्ममा साइमेक्स इंकले करिब ८ अर्ब २ करोड २० लाख रुपैयाँबराबरको व्यापार गरेको छ ।
नेपालमा कर छली गर्दै र भन्सार तथा यातायात विभागलाई आर्थिक प्रलोभनमा पार्दै कम्पनीले व्यापार विस्तार गरेको आरोप लागेको छ । सो कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र अध्यक्ष अनिल श्रेष्ठको नाममा क्रमशः ५० दशमलव ५ र ४९ दशमलव ५ प्रतिशत सेयर रहेको छ ।
साइमेक्स इंकले अटो–३ को आयातमा कर छली गरेको आशंकामा राजस्व अनुसन्धान विभागले कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
गत ४ असारमा राजस्व अनुसन्धानले साइमेक्सको कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रण लिएको थियो । साइमेक्सले भन्सार छल्न पिक पावर घटाएर गाडी आयात गरेको राजस्व अनुसन्धानको दाबी छ । चीनमा अटो–३ को मोटर पिक पावर १ सय ५० भए पनि नेपाल ल्याउँदा भने साइमेक्सले सय पिक पावर भन्दै कर छली गरेको देखिएपछि अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिइएको थियो ।
साइमेक्सले भन्सार मूल्य ३६ लाख १० हजार तोकेको छ । चीनमा बनेको अटो–३ को १ सय ५० किलोवाटको भन्सार शुल्क आर्थिक ऐन, २०८० अनुसार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत गरी ४० प्रतिशत तिर्नुपर्नेमा उसले सय किलोवाटको १५ प्रतिशत भन्सार शुल्क, १० प्रतिशत अन्तःशुल्क तिरेर कर छलेको बताइएको छ । आजको राजधानी दैनिकबाट