सत्तारोहणबारे कांग्रेसमा दुईधार

14.1k Shares

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र सत्ता स्वार्थ छाडेर पार्टी संगठन बलियो बनाउने र सत्तामा जान अनेकन बाटोको खोजीमा रहेका नेताहरू दुई धारमा उभिएका छन्।

पार्टी संस्थापन पक्षका केही सांसदहरू चाँडै सत्तामा जाने मौका पर्खेर बसे पनि महामन्त्री गगन थापासहितको समूहले सरकारको सपना नदेखी पार्टी संगठन मजबुद बनाउनुपर्ने पक्षमा रहेका हुन् ।

वर्तमान पाँच दलीय गठबन्धनको सरकारभित्र देखिएको असमझदारीलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्तारोहणको अवसरका रूपमा लिएको छ। तर, सोही दलका महामन्त्री गगनकुमार थापाले सरकारतिर ध्यान नदिई २०८४ को निर्वाचन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ।

सरकारको गतिविधिप्रति खरो आलोचना गर्दै आएका महामन्त्री थापाले सरकार चलाउने जिम्मा अहिले सरकारमा रहेका दलहरूलाई नै छोडिदिन आग्रह गर्नुभयो ।

मंगलबार पार्टीको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो– ‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिऊँ । एमाले, माओवादी, घण्टी, जोजो–जसजसले चलाएका छन्, चलाउन दिऔँ, चलाऊन्,’ उहाँले भन्नुभयो– ‘सरकारतिर हामी हेर्दै नहेरौँ । र यति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बढाऔँ ।’ २०८४ को निर्वाचन जित्ने गरी काम गर्न पार्टीका कार्यकर्ताहरूलाई उहाँले निर्देशनसमेत दिनुभयो। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार