६३५ निजामती कर्मचारीले किन छोडे जागिर ?

15.8k Shares

काठमाडौं । विभिन्न आरोह अवरोह पार गर्दै र प्रतिस्पर्धामा अब्बल ठहरिएर निजामती सेवामा प्रवेश गरेकाहरूले अवधि नपुग्दै जागिर छोड्ने गरेका छन्। चालू आर्थिक वर्ष २०७९्-८० को ११ महिनाको अवधिमा मात्रै ६ सय ३५ जना कर्मचारीले जागिर छोडेको पाइएको छ । उनीहरूले के कारणले जागिर छोडे भन्नेबारेमा सरकारले कुनै खोज अनुसन्धान गरेको छैन ।

भविष्य सुन्दर बनाउने लक्ष्य लिएर निजामती क्षेत्रमा प्रवेश गरेकाहरूले पूरै अवधि जागिर नखाँदै किन बीचैमा छोडे भन्नेबारेमा सरकारी निकाय अनविज्ञ छ । निजामती सेवामा प्रवेश गर्नेहरूले सचिवको ५ वर्षे कार्यकाल र मुख्य सचिवको ३ वर्षे कार्यकालबाहेकको अवस्थामा ५८ वर्षसम्म जागिर खान पाउँछन् । गत ११ महिनामा जागिर अवधि सकिएर अवकाशमा गएका कर्मचारीको संख्या भने १८ सय १२ रहेको छ ।

तर, जागिर प्रवेश गरेको छोटो समयमा नै राजीनामा दिएर निस्कने कर्मचारीको संख्या पनि बढ्दो रहेको बताइएको छ । केन्द्रीय कर्मचारी निकाय ९सीपीए० को रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई यस विषयमा कुनै मतलव रहेको देखिँदैन । कर्मचारीको मनोवैज्ञानिक अवस्थालाई बुझ्ने कोसिस मन्त्रालयले गर्न नसकेको आरोप छ ।

सरकार र उच्च तहले कर्मचारीको सेवा सुविधा र वृृत्ति विकासमा कुनै ध्यान नदिँदा तथा निजामती सेवा व्यवस्थित प्रणालीमा सञ्चालन हुन नसक्दा कतिपय इमानदार कर्मचारीहरू निजामती सेवाप्रति वाक्कदिक्क अवस्थामा छन् । इमानदारहरू पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै निजामती सेवाको आलोचनासमेत हुँदै आएको छ । स्रोतका अनुसार जागिर अवधि नसकिँदै राजीनामा गर्नेमा केही संख्यामा इमानदार कर्मचारीहरूसमेत रहेको बताइएको छ ।

राष्ट्रिय किताबखानाका अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म निजामती सेवामा रहेका ६ सय ३५ जना कर्मचारीले राजीनामा दिएर सेवा बाट बाहिरिएका हुन्। निजामती किताबखानाले पनि राजीनामा दिएका कर्मचारीले के कति कारणले राजीनामा दिएका हुन् भन्नेबारेमा कुनै सोधपुछ गर्ने र जानकारी लिने काम गर्न सकेको छैन। राष्ट्रिय किताबखानाका महानिर्देशक वैकुण्ठनिधि शर्माले जागिर अवधि नसकिँदै वर्षेनी केही संख्यामा कर्मचारीले राजीनामा दिने गरेको बताउनुभयो । महानिर्देशक शर्माले कर्मचारीको राजीनामाको कारण भने थाहा हुन नसकेको बताउनुभयो। आजको नेपालसमाचारपत्र दैनिकबाट

सम्बन्धित समाचार