काठमाडौं । मालपोत कार्यालय काठमाडौंले राजधानीको ठमेलस्थित कमलपोखरीको एतिहासिक जग्गा अतिक्रमण भएको कि.नं. १६७ को फिल्डबुक विवरणमा पोखरी भए पनि स्रेस्ताको किसिममा सिम प्रकृतिको जग्गा भएको सर्वोच्च अदालतलाई जवाफ पठाएको छ । सर्वोच्चले कमलपोखरीको जग्गा व्यक्तिको नाममा कसरी भयो भनी मागेको जवाफमा मालपोतले यस्तो जवाफ पठाएको हो ।
बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवान्बहाल अगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेको नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरी श्रेष्ठलगायतका १५ थान मुद्दा सर्वोच्चमा परेको थियो ।
सो मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासले हाल छायादेवी कम्प्लेक्स बनेको साबिक कित्ता नं. १६७ र १०४० का जग्गाहरू २३ मंसिर २०४४ मा नेपाल सरकारका नाममा दर्ता से्रस्ता कायम भएकामा सोही जग्गाबाट कित्ताकाट भई विभिन्न व्यक्तिका नाममा गएको देखिएकामा के कसरी व्यक्तिको नाममा कित्ताकाट हुन गएको हो ? सोको विवरण गुठी संस्थान केन्द्रीय कार्यालय र मालपोत कार्यालय काठमाडौंबाट झिकाउन आदेश दिएको थियो ।
थहवी विक्रमशील महाविहार राजगुठीको संरक्षणमा रहेको कमलपोखरी, डिल र चोकसमेत २६ रोपनी ८ आना क्षेत्रफलका नाइके हिरण्यश्वरमान प्रधानसमेतले २०३३ साल र २०६२ सालमा गुठी संस्थानको ऐनविपरीत मिलापत्र गरी व्यक्तिको नाममा दर्ता गर्न सहीछाप गरिदिएका थिए ।
हाल सो गुठीको कार्यसमितिका अध्यक्ष हिरण्यश्वरमानका छोरा सुरेन्द्रमान प्रधानसमेतले सार्वजनिक पोखरी र पोखरीको डिलसमेतलाई व्यक्तिका नाममा रहेको छाया कम्प्लेक्स प्रालि कम्पनीको नाममा हक हस्तान्तरण गर्न सहमतिपत्र दिएका हुँदा उनीहरूलाई थुनामा राखी कारबाही गरी कि.नं. साबिक १६७ को हाल कायम २४१२, २४१३, १६१७, २०१९, १०४० समेतका कित्ताहरू सार्वजनिक गरी सो जग्गामा बनाइएका संरचनाहरू भत्काउनुपर्ने माग स्थानीयले समेत गरेका थिए ।