काठमाण्डौं । डा. रणशेर राई स्मृति ग्रन्थको पुस्तक समीक्षा वृहत् रुपमा सम्पन्न भएकाे छ । आज शनिबार काठमाडाैँकाे कोटेश्वर अवस्थित किरात राई यायोख्खा केन्द्रीय कार्यालयको सभाहलमा डा. रणशेर राई स्मृति फाउण्डेसनको आयोजनामा उक्त समीक्षात्मक कार्यक्रम वृहत् रूपमा सम्पन्न भएकाे हाे ।
डा. रणशेर राई स्मृति फाउण्डेसनका अध्यक्ष महेन्द्र कुमार राईको सभापतित्वमा आयोजना भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, विशिष्ट अतिथि प्रा.डा. सुरेन्द्र केसी लगायत अरू आतिथिहरुमा प्रा.डा. विनोद मन्जन, फाउण्डेसनकी संरक्षक जेठी छोरी अम्विका राई, प्राज्ञ एवं वरिष्ठ आख्यानकार राजन मुकारुङ, पूर्व राज्यमन्त्री हरीश चन्द्र परियार, साहित्यकार सुरेश हाचेकाली, शिक्षाविद वलराम पोखरेल, समाजसेवी मुघाधन राई, डा. विष्णुराई, वरिष्ठ अधिवक्ता किवाहाङ राई लगायत अन्य दिग्गज व्यक्तित्वहरु र पत्रकारहरूको कार्यक्रममा बाक्लो उपस्थिती रहेको थियो ।
राष्ट्रिय गानवाट सुरु गरिएको उक्त कार्यक्रममा डा. रणशेर राई स्मृति ग्रन्थमा लेख, रचना र आर्थिक सहयोग गर्ने दाताहरूलाई मायाको चिनो ट्रफी, पुस्तक र रुद्राक्ष मालाले सम्मान गरिएको थियो । ४२४ पृष्ठको उक्त स्मृति ग्रन्थमा ८२ जना लेखक र कविहरुले आ-आफ्नो सृजना पस्किनु भएको छ भने पुस्तकका सम्पादक तिलक चाम्लिङले स्वागत मन्तव्य दिनुभएको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरु सवै वक्ताहरुले डा. रणशेर राईले विशेषत शिक्षा, स्वास्थ्य र मानवबस्ति विकास आदिमा दिनुभएको योगदानलाई समाज र राष्ट्रले उच्च मुल्याङ्कन गर्नुपर्दछ भन्ने कुरामा जोड दिनुभएको थियो ।
ग्रन्थमा स्व.डा. राईले स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको योगदानबारेका सामग्री समेटिएका छन् । पुस्तकमा राईको व्यक्तित्वबारे वहाँका सहकर्मीहरूले संस्मरण, लेख तथा कविता लेखेका छन् । कृति प्रतिष्ठानका अध्यक्ष महेन्द्र कुमार राईको नेतृत्वमा प्रकाशन भएको हो भने किताबकाे प्रमुख व्यवस्थापककाे रूपमा हिराधन राई हुनुहुन्छ ।




