पछिल्लो समय महामारीकै रुपमा फैलिएको कोरोना भाइरसबाट बच्ने उपाय भनेको भ्याक्सिन नै भएको धापाखेलस्थित सुमेरु अस्पतालमा कार्यरत वरिष्ठ छाती रोग तथा आईसीयु स्पेसलिस्ट डा. कमल राज थापा बताउनुहुन्छ । सरकारले चाँडोभन्दा चाँडो महामारीबाट बचाउनका लागि प्रत्येक नागरिकहरुलाई भ्याक्सिनको व्यवस्था गराउर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । सरकारले प्रत्येक नागरिकलाई भ्याक्सिन लगाउने व्यवस्था र भ्याक्सिन कसरी हुन्छ चाँडो ल्याई नागरिकलाई लगाउने वातावरण बनाउन सरकारसँग आग्रसमेत गर्नुहुन्छ । यसै सेरोफेरोमा रहेर खोजतलास साप्ताहिकका लागि राजु बस्नेतले डा. कमलराज थापासँग गरेको कुराकानी ः
० पहिलो चरणको कोरोना भाइरसले भन्दा दोस्रो चरणको कोरोना भाइरसले ठूलो मानवीय क्षति भयो के कारण होला ?
पहिलो चरणको कोरोना भाइरस भन्दा पनि दोस्रो चरणको कोरोना भाइरसले धेरै नै मानवीय क्षति पु¥यायो । यसको मुख्य कारण भनेको नयाँ उत्परिवर्तित कोरोना संक्रमणका कारण मानिसमा गम्भीर प्रकृतिको निमोनिया गराएकाले पनि मानवीय क्षति बढेको हो । नयाँ उत्परिवर्तित भाइरसले फोक्सोलाई अति गम्भीर अवस्थामा पु¥याएका कारण धेरै नै कोरोना संक्रमित विरामीहरु फोक्सोले काम नगरेका कारण मृत्युवरण हुनु पुगे । पहिलो चरणको दाँजोमा दोस्रो चरणको नयाँ उत्परिवर्तित कोरोना भाइरसको संक्रमणदर अति नै उच्च रह्यो । उत्परिवर्तित कोरोना भाइरस फैलनुमा चाहिँ स्कुल, हाट बजार, विवाहभोजहरुमा सहभागी मानिसहरुले उपयुक्त सामाजिक दुरी कायम नगर्नु, माक्सको प्रयोग नगर्नु र सावधानीका उपायहरु नअप्नाउनाले पनि संक्रमितको दर एकदमै बढेको पाइयो ।
विशेष गरी दोस्रो चरणको कोरोना भाइरसबाट संक्रमितको मृत्यु बढ्नुका कारण सरकारको उचित पूर्व तयारी नहुनु पनि एक मुख्य कारण लिन सकिन्छ ।
० कोरोना भाइरस संक्रमित विरामीलाई प्रत्यक्षरुपमा उपचारमा खटिनुभयो, उपचारका क्रममा कस्ता—कस्ता अप्ठ्यारो स्थितिहरु आए ?
हामी स्वास्थ्यकर्मी भन्दा पनि समग्ररुपमा स्वास्थ्य क्षेत्रमा नै जटिल परिस्थिति सिर्जना भयो । जसले गर्दा हामीजस्ता प्रत्यक्षरुपमा संक्रमित विरामीसँगै खटिएका स्वास्थ्यकर्मीहरुलाई त झनै ठूलो समस्या आउनु स्वभाविकै हो । उपचारमा खटिँदा धेरै अप्ठ्यारा परिस्थितिहरुको सिर्जना भयो । जस्तै सामान्य अति आवश्यक औषधीको कमी, अस्पतालहरुमा साधारण कोभिड शैयाको अभाव, स्वास्थ्यकर्मीहरुको सुरक्षाको निम्ति चाहिने पीपीजस्ता सामाग्रीहरुको अभाव, कोभिड विरामीको लागि अतिआवश्यक अक्सिजन प्रयाप्तरुपमा उपलब्ध नुहुनुजस्ता समस्याहरुको सामना हामीले गर्नुप¥यो ।
जसका कारणले प्रत्यक्ष रुपमा कोभिड संक्रमित विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले पनि मृत्युवरण गर्नुप¥यो र घर परिवार र समाजमा पनि मानसिक रुपमा टाढिनुपरेकाले मानसिक तनाव पनि त्यतिनै भएको महसुस भयो । सोही कारण यस्तो विषम परिस्थितिमा आफ्नो ज्यानको समेत परवाह नगरी प्रत्यक्षरुपमा खटिने कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई सबै क्षेत्रबाट आत्मबल बढाउने कार्य गर्नुपर्नेमा खासै त्यस्तो आत्मबल बढाउने कार्य नहुनुले यस्ता उपचारमा प्रत्यक्ष रुपमा खटिने कर्मचारीदेखि लिएर स्वास्थ्यकर्मीहरुको मनोबल गिरेको महसुस गरेको छु ।

० करिब डेढ महिना अगाडि कोरोना भाइरस संक्रमित र मृत्युदर एकदमै बढेको थियो, तर केही दिन यता संक्रमितको संख्या र मृत्युदर ह्वात्तै घट्नुको कारण के होला ?
विशेष गरी त्यतिबेला केही मानिसमा कोरोना भाइरसको संक्रमण बढ्नु र संक्रमणकै कारण मृत्युदर बढ्न थालेपछि सरकारले तुरुन्तै प्रभावकारी लकडाउन गर्ने निर्णय गर्नु र विस्तारै अक्सिजनको व्यवस्था मिलाउनु, अस्पतालहरुमा बेडहरु उपलब्ध गराउनु साथै उपचारका लागि चाहिने अत्यावश्यक सामाग्री तथा औषधीको व्यवस्थापन गर्नाले नै संक्रमणको दर घटेको अनुमान लगाउन सकिन्छ । त्यस्तै संक्रमित बढ्दो र मृत्युदर पनि बढेको देखेपछि जनमानसले पनि सामाजिक दुरी कायम गर्ने, अनिवार्य माक्सको प्रयोग गर्ने, आफ्नो सरसफाईमा पनि विशेष ध्यान पु¥याएका कारण पनि संक्रमण दर कम भएको पाइएको हो । त्यस्तै अन्य सहयोगी संस्थाहरु जस्तै संचारमाध्यमहरुबाट संक्रमणबाट कसरी जोगिन सकिन्छ भन्ने सन्देश जनमानसमा पु¥याएको र सोही अनुसार जनमानसले पनि पालना गरेकै कारण पनि संक्रमण घट्नुको मुख्य कारण हो ।
० दोस्रो लहरको कोरोना भाइरस संक्रमित विरामीहरुलाई उपचार गर्दा कस्ता—कस्ता उपचार विधिहरु अप्नाउँदै हुनुहुन्छ ?
संक्रमित रोगका विरामीहरुको अवस्था हेरी उपचारका विधिहरु अप्नाउने गरिन्छ । कोरोना भाइरसका संक्रमितलाई तीन तहमा बगिकरण गरी उपचार गर्ने गरेका छौं । पहिलो हल्का, मध्यम र गम्भीर प्रकृतिका गरी तीन तहका हुन्छन् । पहिलो हल्का कोरोना भाइरस संक्रमित विरामीलाई तर अक्सिजन नचाहिने किसिमका विरामीलाई हल्का कोरोना संक्रमित विरामीको रुपमा लिन्छौं । त्यस्ता विरामीलाई चाहिँ सकेसम्म होम आइसोलेसनमा बस्ने सल्लाह दिन्छौं र सामान्य लक्षणअनुसारको उपचारका विधि अप्नाउँछौं । प्रशस्त मात्रामा झोलिलो खानेकुराहरु खाने सल्लाह दिन्छौं र अप्ठ्यारो परेको खण्डमा अस्पताल आउने सल्लाह दिन्छौं । मध्यम र गम्भीर किसिमका कोरोना भाइरसका विरामीहरुलाई विभिन्न माध्यमबाट आवश्यकताअनुसार अक्सिजनको मात्रा पुराउने उपचार विधि अप्नाउनुका साथै त्यसबाट पनि नपुग्ने विरामीलाई चाहिँ अत्याधुनिक मेशिनहरुबाट अक्सिजनको सप्लाई गर्छौं भने आवश्यकता पनि भेन्टिलेटरमा राखेर पनि उपचार गरिन्छ । विरामीको लक्षणअनुसार औषधीको पनि प्रयोग गरिन्छ ।
० सुमेरु अस्पतालमा कोभिड पोष्टमा गरिने उपचार सुविधाहरु प्रयाप्त छ कि छैन ?
सुमेरु अस्पताले कोरोना भाइरस संक्रमितको उपचारका लागि भनेर कोभिड वार्ड र कोभिड आईसीयु वार्ड बेग्लै छुट्ट्याएको छ । सो वार्डमा पोर्टेवल एक्सरे मेसिनको व्यवस्था गरिएको छ भने अल्ट्रासाउण्ड मेशिन, इको कार्डियोग्रामको व्यवस्थासमेत कोभिड पोष्टमा मिलाएको छ । कोरोना संक्रमित विरामीलाई सीटी स्क्यान गर्नको लागि पनि छुट्टै समय निर्धारण गरी प्रयाप्त सुरक्षाको सावधानी अप्नाएर सीटी स्क्यान सेवाको व्यवस्था मिलाएको छ । संक्रमित विरामीलाई अक्सिजन दिनको लागि आवश्यक पर्ने विभिन्न उपकरण, अत्याधुनिक मेशिन जस्तो एचएफएनसी, बीआईपीएपी र मेकानिकल भेन्टिलेटरको समेत व्यवस्था गरेको छ । संक्रमित विरामीको उपचारको सुविधाको हिसावले उपत्यकाकै उत्कुष्ट अस्पतालको रुपमा स्थापित अस्पतालको रुपमा रहेको छ ।
० तपाईंद्वारा उपचार पाइरहेका कोरोना भाइरसका विरामीहरुको पछिल्लो समय कस्तो अवस्था छ ?
धेरै जसो कोरोना भाइरस संक्रमित विरामीहरु उपचार पछि सामान्य अवस्थामा डिस्चार्ज भई घर फर्किनुभएको अवस्था छ । केही संक्रमित विरामीहरुले अझै अस्पतालमा अक्सिजन प्रयोग गरेर उपचार गराइरहनुभएको छ । उहाँहरुको अवस्था पनि धेरै सुधारोन्मुख छ । हाल गम्भीर प्रकृतिका संक्रमित विरामीहरु छैनन् ।
० पोस्ट कोभिडका विरामीहरुको अवस्था कस्तो छ, उनीहरुले कसरी उपचार पाइरहेका छन् ?
पोष्ट कोभिडका धेरैजसो विरामीहरु सामान्य अवस्थामा नै रहेको पाइएको छ । केही विरामीहरुमा चाहिँ लङ्ग कोभिडको लक्षणहरु भएको पाइएको छ । जस्तै, सास फेर्न गाह्रो हुने, छाती दु्ख्ने, मुटुको ढुकढुकी बढ्ने, पसिना आउने, कम्जोरीको महसुस हुने, थकान र निन्द्रा कम आउने, गन्ध र स्वादको कमी जस्ता लक्षणहरु पनि लामो समयसम्म पाइएको छ । हाल अस्पतालमा पोष्ट कोभिडका विरामीहरुलाई ध्यानमा राखी ओपीडी सेवा पनि संचालन भइरहेको छ र उक्त विरामीहरुले यस अस्पतालबाट ओपीडी सेवाहरु लिइरहनुभएको छ ।
० कोभिडका कारण विरामी परेकाहरुलाई निको भइसकेपछि कस्ता—कस्ता समस्याहरु आउन सक्छन् ? र ती समस्याबाट कसरी बच्न सकिन्छ ?
कोरोना भाइरसबाट संक्रमित भई निको भइसकेका विरामीहरुलाई पछि सास फेर्न गाह्रो हुने, छाती दु्ख्ने, मुटुको ढुकढुकी बढ्ने, पसिना आउने, कम्जोरीको महसुस हुने, थकान र निन्द्रा कम आउने, गन्ध र स्वादको कमी जस्ता समस्याहरु देखा पर्छन् । मध्यम प्रकारको समस्याचाहिँ आफै विस्तारै ठिक हुँदै जान्छ । त्यसका लागि नियमित व्यायाम, उचित खानपानमा ध्यान पु¥याउनुपर्ने हुन्छ र पुनः संक्रमणबाट बच्नका लागि सामाजिक दुरी अप्नाउनुपर्ने, साबुन पानीले मज्जाले हात धुने, नाक—मुख ढाक्ने गरी माक्स प्रयोग गर्ने जस्ता क्रियाकलापहरु गर्ने बानी बसाल्नुपर्छ । सम्भव भएसम्म कोभिडको भ्याक्सन लगाउनुपर्छ ।
० कोभिडका विरामीको मृत्युदर बढिरहेको अवस्थामा तपाईंद्वारा उपचार पाइरहेकाको मृत्यु हुँदा आफूलाई कस्तो महसुस हुने गर्छ ?
आफूद्वारा उपचार पाइरहेका विरामीहरुको मृत्यु नहोस भन्ने चाहन्छौं । तर, हामीले उपचारको अथाह प्रयास गर्दा पनि मृत्यु भएको अवस्थामा पीडा नहुने कुरै भएन । त्यसका साथै मानसिक तनावको पनि महसुस हुन्छ । समग्र हामी स्वास्थ्यकर्मीहरु भावनात्मक हिसावले विछिप्त हुन्छौं ।
० भ्याक्सिन लगाएका विरामी र भ्याक्सिन नलगाएका विरामीमा कोरोना भाइरस संक्रमण भएको अवस्थामा कसलाई बढी खतरा हुन्छ ?
भ्याक्सिन लगाएका कोरोना भाइरस संक्रमित विरामीलाई मध्यम प्रकारको इन्फेक्सन भएको पाइयो । तर भ्याक्सिन नलगाएकाहरुमा धेरै मात्रामा कोभिडको संक्रमण भएको पाइयो र संक्रमितहरु पनि गम्भीर संक्रमण बढी हुने पाइएको छ । त्यसैले समग्र रुपमा भन्नुपर्दा भ्याक्सिन नलगाएका लागि चाहिँ बढी नै खतरा रहेको पाइयो ।
० कोरोना भाइरस संक्रमित भई निको भइसकेका केही विरामीलाई कालो ढुसीको संक्रमण भएको पाइएको छ, के कारणले यस्तो समस्या आउने गर्छ ?
विशेष गरी कोरोना भाइरस संक्रमित सुगरका विरामीहरुमा सुगरको मात्रा नियन्त्रण नहुनु र कोरोना संक्रमणको उपचारको क्रममा स्टेरोयड नामको औषधी प्रयोग हुनु र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउनुले कालो ढुसीको संक्रमण भएको पाइएको छ ।
० लकडाउनको अवस्थामा दिनचर्या कसरी वितिरहेका छन् ?
छाती रोग तथा आईसीयु विशेषज्ञ भएकाले विशेषतः छाती रोगी, कोरोनाका विरामी र आईसीयुका विरामीहरुलाई उपचार गर्नुपर्ने हुँदा यस कारोनाको महामारीको बेला अत्यन्त व्यस्तताका साथ दिनहरु वितेको छ । मुख्यतः दोस्रो लहरको कोरोना भाइरस संक्रमित विरामीहरुको उपचार र तिनीहरुको व्यवस्थापनसम्बन्धी राष्ट्रियस्तरका तालिमहरु संचालन गरेर दिनचर्या वितिरहेका छन् । कोरोना भाइरस संक्रमित मात्र नभई अन्य विरामीहरुका लागि पनि भर्चुअल माध्यमबाट सल्लाह, सुझाव दिएर उपचार गर्दै आइरहेको छु ।
० अन्तिममा केही भन्नु छ कि ?
भन्नै पर्ने कुरा पछिल्लो समय महामारीकै रुपमा फैलिएको कोरोना भाइरसबाट बच्ने उपाय भनेको भ्याक्सिन नै हो । सरकारले चाँडोभन्दा चाँडो महामारीबाट बचाउनका लागि प्रत्येक नागरिकहरुलाई भ्याक्सिनको व्यवस्था गराउर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । सरकारले प्रत्येक नागरिकलाई भ्याक्सिन लगाउने व्यवस्था र भ्याक्सिन कसरी हुन्छ चाँडो ल्याई नागरिकलाई लगाउने वातावरण बनाउन आग्रह गर्दछु ।