गिरीबन्धु टी-स्टेट प्रकरण : ५ सय जनाको ५ लाखदेखि १० करोडसम्म फस्ने खतरा

14.2k Shares

भद्रपुर । भूमाफियाको विश्वासमा परेर झापास्थित गिरीबन्धु टी–स्टेटको जमिन खरिद गर्न लगानी गर्ने झापादेखि काठमाडौंसम्मका नेता, व्यापारीदेखि सर्वसाधारण गरी करिब ५ सय जनाको ५ लाखदेखि १० करोड रुपियाँसम्म फस्ने खतरा बढेको छ।

गिरीबन्धुमा बिर्तामोड वरिपरिकै करिब तीन सय व्यापारी र सर्वसाधारणले ५ लाखदेखि १० करोड रुपियाँसम्म लगानी गरेको बुझिएको छ। गिरीबन्धुको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले गत माघ २४ मा खारेज गरेको थियो। साथै गत वैशाख २९ मा सर्वोच्चले हदबन्दी छुट पाएको उक्त जमिन दुरुपयोग गर्न मात्र होइन, बाँझो राखेको भेटिए सरकारकै स्वामित्वमा ल्याउने गरी परमादेश जारी गरेपछि जग्गा पाउने आसमा चलनचल्तीको बजारभाउमा प्रतिधुर ५ देखि १० लाख रुपियाँसम्म पर्ने जग्गाका लागि बिचौलियालाई बैना बुझाएकाहरूको लगानी फस्ने खतरा बढेको हो।

गिरीबन्धुको जग्गा पाइने आसमा लगानी गर्ने सयभन्दा बढी ठूला व्यापारीको सूचीमा बिर्तामोडको शिवम् हाउजिङका प्रबन्धक मनोज प्रसाईं पनि हुनहुन्छ । करोडको हाराहारीमा लगानी गर्नुभएको उहाँ बैना फिर्ता हुनेमा ढुक्क हुनुहुन्छ । कतिपयले बैना रकम फिर्ताका लागि ताकेता गर्न थालेका छन् भने पहुँच र प्रभाव नभएकाहरू पैसा फिर्ता नहोला कि भन्ने चिन्तामा छन्। नाम सार्वजनिक गर्दा बिचौलियाले पैसा फिर्ता नदिने डरले कोही खुलेर बोल्न सकेका छैनन् भने कोही कानुनी झमेलामा फसिने डरले सार्वजनिक हुन नसकिरहेको पाइएको छ।

बिर्तामोड ६ का हर्कजीत राईलगायत कतिपयले स्थानीय विष्णुबहादुर राईलाई बैना रकम बुझाएको पाइएको छ। तरकारी व्यवसाय गर्दै आउनुभएका राईले विष्णु बहादुरलाई १० लाख रुपियाँ बैना दिएको बताउनुहुन्छ। त्यसै गरी बिर्तामोडकै चटपटे व्यवसायी सठुदेव चौधरीको पनि ५ लाख रुपियाँ डुबेको छ। बसपार्क क्षेत्रमा व्यवसाय गर्दे आएका एक व्यवसायीले नाम सार्वजनिक नगर्ने सर्तमा आफूले लगानी गरेको ५ लाख पटकपटक ताकेता गरेर केही दिनअघि फिर्ता लिएको बताउनुभयो । उहाँले पनि राईलाई नै रकम बुझाएको बताउनुभयो। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार