कान्तिपुरका ९५२ बचतकर्ताको जाहेरी

13.3k Shares

काठमाडौँ । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर लामा (सिबी लामा तामाङ) विरुद्ध एक अर्ब ५१ करोड रुपियाँ बचत रकम अपचलन गरेको अभियोगमा जाहेरी परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पूर्वअध्यक्ष लामा पक्राउ पर्नुअघि ८५२ र पक्राउ परेपछि थप एक सय जनाको जाहेरी परेको बताउनुभएको हो । 

उहाँका अनुसार जाहेरीकर्ताको मागबमोजिम एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपियाँ बिगो रकम रहेको छ । लामाविरुद्ध नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । लामालाई जेठ १६ गते चितवनबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो । ललितपुरको बालकुमारीस्थित वेस्टर्न आवासीय भवनमा बस्ने लामाविरुद्ध प्रहरी वृत्त बानेश्वरमा सहकारीका बचतकर्ताको जाहेरी परेपछि काठमाडौँ जिल्ला अदालतले २०८० फागुन २० गते पक्राउ पुर्जी जारी गरेको थियो । 

२०८० फागुनमै सिआइबीले कान्तिपुर सहकारीका अध्यक्ष हिमालविक्रम मल्ललाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएपछि तत्कालीन अध्यक्ष लामा पनि तानिनुभएको हो । 

सात अर्ब ९० करोड अपचलन 

काभ्रे मूल घर भएका चन्द्रबहादुर लामा (सिबी लामा तामाङ) विसं २०५५ देखि सहकारी क्षेत्रलाई व्यवसाय बनाएर लाग्नुभएको हो । उहाँले यसबारे सुरुवात पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडबाट गर्नुभयो । उक्त सहकारीको नेतृत्व पत्नी सन्ती लामालाई दिएर अभियुक्त लामाले कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड स्थापना गरेर आफू अध्यक्ष बन्नुभयो । 

काठमाडौँ, ललितपुरसहित विभिन्न जिल्लाका सात हजार २०७ नागरिकको सात अर्ब ८९ करोड ९९ लाख नौ हजार ७२ रुपियाँ आर्थिक अपचलन, हिनामिना र गलत ठाउँमा लगानी गरेपछि लामाले कारबाही अघि बढाएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्यसचिव केशवप्रसाद पौडेलले पशुपति सहकारीबाट एक हजार ४२ जनाको एक अर्ब ११ करोड ४८ लाख तीन हजार ६१८ रुपियाँ अपचलन भएको बताउनुभयो । जसमध्ये ९४२ बचतकर्ताले बानेश्वर प्रहरीमा जाहेरी दिनुभएको छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार