बुटवलमा सहकारीले निर्माण गर्‍यो चार्जिङ स्टेसन

14.6k Shares

काठमाडौँ ।  विद्युतीय सवारीको प्रयोग बढेसँगै  बुटवलको एक बहुउद्देश्यीय सहकारीले विद्युतीय सवारी चार्जिङ स्टेसन  निर्माण गरिरहेको  छ । बुटवलको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने भएको हो । उक्त सहकारीले आफ्नै भवन परिसरमा अत्याधुनिक मेशिन जडित ‘फास्ट चार्ज’ सहितको स्टेसन सञ्चालनमा ल्याउन लागेको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताए । उनका अनुसार अहिले स्टेसनको काम भैरहेको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि ३० मिटर दुरीमा स्थापना गर्न लागिएको चार्जिङ स्टेसनबाट दैनिक ९० बढी सवारीका साधनलाई सेवा उपलब्ध गराउन सकिने बताइएको छ । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोगमा सञ्चालन गरिने यो स्टेसनमा मानवरहित सेवा उपलब्ध गराइने छ भने सेवाग्राहीले अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

सो स्टेसनमा आधुनिक सफ्टवेयरमार्फत सञ्चालन भई अनलाइन माध्यमबाट रकम भुक्तानीको सुविधासहित ६० किलोवाट क्षमताको सीसीएस ९२ डबल गनको मेशिन तथा ६० किलोवाटकै जीबीटी डबल गन सहितका २ वटा मेशिन जडान हुँदैछन् । जहाँ एकसाथ ६ वटा सवारीले सेवा लिन मिल्ने गरी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुनसक्छ । स्टेसनमा बुटवल–गुल्मी सडक खण्डमा सञ्चालन हुँदै आएका १३ वटा सवारीका लागि सम्झौता भइसकेको छ भने बुटवलका अन्य सवारी धनीहरूसँग पनि सम्झौताका लागि प्रक्रिया अघि बढेको सहकारीकी उपाध्यक्ष माया गौतमले जानकारी दिइन् । 

स्टेसन सञ्चालनका लागि विद्युत् प्राधिकरणले २ सय केभीको छुट्टै ट्रान्सफर्मर जडान गरेर सहयोग गरेको बताउँदै उनले मापदण्डअनुसार स्नान कक्ष, शौचालय, आराम कक्ष तथा चमेना गृहलगायतका संरचना निर्माण गर्न करिब १ करोड लगानी गरिएको बताइन् । बुटवल  बसपार्कमा प्राधिकरणले  चार्जिङ स्टेसन निर्माण  गरिसकेको छ  भने अहिले बन्न लागेको  निजी क्षेत्रको पहिलो  चार्जिङ स्टेसन हो ।

 
सम्बन्धित समाचार